विदेश पठाउने भन्दै ठगी गर्ने पाँचजना पक्राउ

विदेश पठाउने भन्दै ठगी गर्ने पाँचजना पक्राउ

काठमाडौं : प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका बस्ने बर्दिया घर भएका ३६ वर्षीय अर्जुन बहादुर पौडेल, ललितपुर महालक्ष्मी नगरपालिका-७ बस्ने सर्लाही घर भएका ४६ वर्षीय डिल्ली राम भुजेल, काठमाडौं महानगरपालिका-१६ बस्ने ४३ वर्षीया उमा गुरुङ, ललितपुर महानगरपालिका-७ बस्ने कास्की घर भएका ३३ वर्षीय आशिष महत र भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बस्ने रामेछाप घर भएकी ३५ वर्षीया संगिता श्रेष्ठ रहेका छन् ।

पक्राउ परेकामध्ये अर्जुनले क्रोएशिया पठाइदिन्छु भन्दै १ जनाबाट ३ लाख ३० हजार रुपैयाँ, डिल्लीले मालदिभ्स पठाइदिन्छु भन्दै १ जनाबाट २ लाख ९९ हजार रुपैयाँ, उमाले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रुपैयाँ लिएर ठगी गरेको आरोप छ।

यस्तै, आशिषले बेलायत पठाइदिन्छु भन्दै १ जनाबाट २३ लाख रुपैयाँ र संगिताले पोर्चुगल पठाइदिन्छु भन्दै १ जनाबाट ३ लाख ६८ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले उमा र संगितालाई काठमाडौं महानगरपालिका-१२ बाट तथा आशिषलाई काठमाडौं महानगरपालिका-१० बाट आइतबार पक्राउ गरेको हो। साथै अर्जुनलाई काठमाडौं महानगरपालिका-४ बाट र डिल्लीलाई काठमाडौं महानगरपालिका-९ बाट शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

चैत ९, २०८२ सोमबार १०:२५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।