सिन्धुपाल्चोकमा खाना खाने क्रममा बेहोस भएका सडक मजदुरको मृत्यु

सिन्धुपाल्चोकमा खाना खाने क्रममा बेहोस भएका सडक मजदुरको मृत्यु

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-३, खुतुमेडाँडामा सडक निर्माणमा खटिएका एक जना मजदुरको मृत्यु भएको छ।

मृत्यु हुनेमा रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–७ घर भएका अन्दाजी ६४ वर्षीय ईमान सिंह तामाङ रहेका छन्।

आइतबार राति १०:३० बजे खाना खाने क्रममा तामाङ अचानक ढलेर बेहोस भएका थिए। बेहोस भएका उनलाई तत्काल उद्धार गरी उपचारका लागि मेलम्ची नगर अस्पताल पुर्याइएको थियो।

अस्पतालमा परीक्षणका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाको समयमा मृतकका छोरा विनोद तामाङ पनि उनीसँगै रहेका थिए।

तामाङ सिद्धिकाली कन्ट्रक्सन एण्ड प्रा.लि. अन्तर्गत खुतुमेडाँडा सडक खण्डमा कामदारको रुपमा कार्यरत थिए। घटनाबारे उक्त कन्ट्रक्सनका सडक साइट सुपरभाइजर सविन खड्काले प्रहरीलाई खबर गरेका थिए।

खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नवलपुरबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) मधु खड्काको कमाण्डमा प्रहरी टोली खटिएको थियो। प्रहरीका अनुसार हाल मृतकको शव कानुनी प्रक्रियाका लागि मेलम्ची नगर अस्पतालमै राखिएको छ।

उक्त घटनास्थल इलाका प्रहरी कार्यालय नवलपुरबाट करिब ६ किलोमिटर पूर्वमा पर्दछ। प्रहरीले घटनाको थप मुचुल्का तथा अनुसन्धान गरिरहेको छ।

चैत ९, २०८२ सोमबार १०:१०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।