पराजय नियन्त्रण बाहिरको परिस्थिती भन्दै कांग्रेस केन्द्रीय समितिले अस्वीकार गर्यो गगनको राजिनामा
काठमाडौं : निर्वाचनमा भएको पराजयका लागि संरचनागत समस्या र नियन्त्रणबाहिरको परिस्थितिहरू मुख्य जिम्मेवार रहेको ठहर गर्दै नेपाली कांग्रेसको केन्द्रिय समितीको बैठकले गगन कुमार थापाले सभापति पदबाट दिएको राजिनामा अस्विकार गरेको छ। सानेपास्थित केन्द्रीय कार्यालयमा शुक्रबार र आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले थापाको राजीनामा अस्वीकार गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।
उपसभापति विश्वप्रकाश शर्माले राजीनामा अस्वीकार गरिनुपर्ने प्रस्ताव बैठकमा पेस गरेका थिए। प्रवक्ता देवराज चालिसेका अनुसार, पार्टीले विभिन्न ८ वटा बुँदालाई मुख्य आधार मान्दै सभापति थापाको राजीनामा फिर्ता गर्ने निर्णय गरेको हो।
चालिसेका अनुसार फागुन २१ मा पार्टीका अधिकांश उम्मेदवार पराजित हुनुको कारण संरचनागत समस्या र नियन्त्रणबाहिरका परिस्थितिहरू मुख्य जिम्मेवार रहेको पार्टीले ठहर गरेको छ। वर्तमानको जटिल राष्ट्रिय राजनीतिमा थापाकै नेतृत्व अझै आवश्यक रहेको महसुस गरिएको, राजीनामा स्वीकृत गर्दा पार्टीभित्र अन्योल बढ्ने र कार्यकर्ताको मनोबल कमजोर हुने सम्भावना देखिएको र राजीनामा बाध्यकारी नभई नैतिक र स्वेच्छिक रहेकाले त्यसको उच्च सम्मान गर्दै पदमै रहेर काम गर्न आग्रह गरिएको उनले बताए।
यसैगरि विशेष महाधिवेशनपछि सुरु गरिएको 'कांग्रेस २.०' सुधार कार्यक्रमलाई पूर्णता दिन नेतृत्वको निरन्तरता आवश्यक रहेको, पार्टीलाई आगामी १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्नुपर्ने महत्त्वपूर्ण समय भएको, हारको भार सभापति एक्लैको नभई सामूहिक जिम्मेवारीको सिद्धान्तमा आधारित रहेको भन्दै केन्द्रीय कार्यसमितिका सबै सदस्यहरूले एकमतले राजीनामा अस्वीकार गर्ने पक्षमा निर्णय लिएको उनले बताए।
चैत ८, २०८२ आइतबार २३:३५:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।