फेक रेस्क्यु सम्बन्धी मुद्दा दर्ता, अभियोगमा नक्कली विवरण बनाएकोदेखि मिडियासम्म प्रभावित गराएको विवरण
काठमाडौं : पर्वतारोहणमा जाने पर्यटकको नक्कली उद्धार (फेक रेस्क्यू) गरेर राष्ट्रघात गरेको भन्दै ३२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। उनीहरू विरुद्ध राज्यविरुद्ध र संगठित अपराधको कसुर लगाइएको छ।
फेक रेस्क्युबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले माघ ११ गते पत्रकार सम्मेलनबाट सार्वजनिक गरेर पक्राउ सुरु गरेको थियो।
पर्यटकलाई नक्कली बिरामी बनाएर हेलिकप्टरबाट उद्धार गर्न हेलिकप्टर सञ्चालक, ट्राभल्स एजेन्सी र अस्पतालसमेत संलग्न रहेको अभियोग पत्रमा उल्लेख छ।
अभियोग पत्रमा फेक रेस्क्युको अनुसन्धान प्रभावित पार्न प्रतिवेदनमा छेडखानी गर्नेदेखि लिएर नागरिक दैनिकसमेत प्रयोग गरेको उल्लेख छ। प्रहरीले अनुसन्धानमा सबै प्रतिवादीलाई पक्राउ गरेको छैन।
अभियोग पत्रसाथ मुक्ति पाण्डे, सुवास केसी, विवेक पाण्डे, जयराम रिमाल, रविन्द्र अधिकारी, डा. गिर्वाणराज तिमिल्सिना, सन्दिप तिवारी, पासाङ शेर्पा र सन्तोष अधिकारी भन्ने खोमराज अधिकारीलाई पेश गरिएको छ।
डा. मिनल्मा पाण्डे, श्याम सुन्दर कँडेल, श्रीराम केसी, सन्दिप ढुंगाना, शान्त कुमार बाँनिया, बिनोद सापकोटा, जिवन पाण्डे, भानु ढकाल, फुर्वा छिरिङ शेर्पा, ममिता भट्ट, चुङ्ला भुटिया शेर्पा, चुङ्ला भोटे भन्ने चुङ्ला शेर्पा, तेन्जिङ शेर्पा, पासाङ दावा तामाङ, बद्री लम्साल, कवीन्द्र लम्साल, बिष्णु प्रसाद लम्साल, प्रकाश बाबु दाहाल, सुदिप भन्ने चन्द्र प्रसाद प्याकुरेल, कुमार भण्डारी, राम कुमार फुयाल, गणेश सिलवाल र विवेकराज थपलियालाई फरार प्रतिवादी कायम गरिएको छ।
प्रमाणहरु नष्ट गर्न भुमिका खेलेको आरोपमा पक्राउ परेका राजेन्द्र बहादुर सिंहको हकमा उनी ठगी प्रकरणमा संलग्न रहेको प्रमाण नभेटिएको भन्दै उनी विरुद्ध भने मुद्दा नचल्ने निर्णय भएको देखिन्छ।
चैत ८, २०८२ आइतबार १८:५७:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।