दुई उडान गर्ने सहमतिपछि जुम्लामा नेपाल वायुसेवा निगमको कार्यालयको ताला खोलियो
जुम्ला : नेपाल वायुसेवा निगमले जुम्लामा सोमबार दुई वटा उडान गर्ने सहमति जनाएपछि जुम्लास्थित निगमको कार्यालयमा लगाइएको ताला खोलिएको छ।
दुई हप्तादेखि नियमित उडान हुन नसकेको र आइतबारको उडान अन्तिम समयमा रद्द भएपछि आक्रोशित यात्रुहरूले कार्यालयमा ताला लगाएका थिए।
यसअघि नेपाल पत्रकार महासंघको अगुवाइमा जिल्ला प्रशासन कार्यालयमा नेपाल वायुसेवा निगमहित सिता, समिट र तारा एयरको नियमित उडान माग गर्दै ध्यानाकर्षण पत्र बुझाइएको थियो।
त्यसपश्चात भएको छलफलमा आइतबारको उडान विभिन्न कारणवश रद्द भएको जानकारी दिँदै सोमबार रद्द भएको उडानसहित नियमित उडान गरी दुई वटा उडान सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको निमित्त प्रमुख जिल्ला अधिकारी मिनबहादुर रावलले बताए।
उनका अनुसार जुम्लामा नियमित उडान सुनिश्चित गर्न नेपाल वायुसेवा निगम लगायत निजी विमान कम्पनीहरूलाई प्रशासनले पत्राचार समेत गरेको छ।नेपाल वायुसेवा निगमका महानिर्देशक अमृतमान श्रेष्ठले पनि सोमबार दुई वटा उडान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
निमित्त प्रजिअ रावल र युवा अनुप थापाबीच भएको टेलिफोन संवादअनुसार चैत ९ गते बिहान १० देखि ११ बजेसम्म पहिलो उडान र त्यसपछि दिउँसो दोस्रो उडान सञ्चालन गर्न नेपालगञ्ज स्टेशनलाई निर्देशन दिइसकेको जानकारी दिइएको छ।
नियमित उडानका लागि पहल गर्ने र सोमबार दुई उडान गर्ने सहमति भएपछि कार्यालयमा लगाइएको ताला खोलिएको जुम्ला स्टेशन इन्चार्ज उकान्त न्यौपानेले जानकारी दिए।
चैत ८, २०८२ आइतबार १७:३९:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।