नियमित उडान नभएको भन्दै जुम्लामा नेपाल वायुसेवा निगमको कार्यालयमा तालाबन्दी

नियमित उडान नभएको भन्दै जुम्लामा नेपाल वायुसेवा निगमको कार्यालयमा तालाबन्दी

जुम्ला : नेपाल वायुसेवा निगमले लामो समयदेखि नियमित उडान नगरेको भन्दै आक्रोशित यात्रुहरूले आइतबार जुम्लास्थित निगमको कार्यालयमा तालाबन्दी गरेका छन्।

गत फागुन २४ गतेदेखि जहाजले उडान नभर्दा आजित भएका सर्वसाधारण र यात्रुहरूले आइतबार कार्यालयमा  ताला लगाएका हुन्। निगमले अन्य जिल्लाहरूमा नियमित उडान गरिरहेको भए पनि जुम्लामा भने बारम्बार 'उडान हुन्छ' भन्दै झुक्याउने गरेको यात्रुहरूको आरोप छ।

आइतबार उडान हुने निश्चित भएर विमानस्थल पुगेका यात्रुहरू अन्तिम समयमा उडान रद्द भएको सूचना पाएपछि आन्दोलित भएका थिए।

उडान नहुँदा सबैभन्दा बढी समस्या बिरामीहरूलाई परेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि बाहिर रेफर गरिएका गम्भीर बिरामीहरू जहाज कुरेर बसिरहे पनि निगमले संवेदनशीलता नदेखाएको यात्रुहरूको गुनासो छ।

‘अन्य जिल्लामा उडान भइरहेको छ, तर जुम्लामा सधैँ प्राविधिक कारण देखाएर उडान रद्द गरिन्छ,’ एक आक्रोशित यात्रुले भने, ‘बिरामीको ज्यान जोखिममा छ, यस्तो अवस्थामा पनि सरकारी जहाजले जिम्मेवारी पुरा नगरेपछि हामी तालाबन्दी गर्न बाध्य भयौँ।’

लामो समयदेखि सरकारी जहाजले उडान नभर्दा जुम्लावासीले ठूलो सास्ती खेप्नुपरेको छ। निगमले तत्काल नियमित उडानको सुनिश्चितता नगरेसम्म आन्दोलन जारी राख्ने यात्रुहरूले चेतावनी दिएका छन्।

चैत ८, २०८२ आइतबार १५:०३:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।