नेविसंघभित्र चर्कियो विवाद, अवैधानिक कार्य रोक्न नेतृत्वको ध्यानाकर्षण
काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) भित्रका पछिल्ला गतिविधिप्रति नेता कार्यकर्ताहरुले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले आइतबार पार्टी केन्द्रीय कार्यसमितिलाई ज्ञापनपत्र बुझाएर नेतृत्वको ध्यानाकर्षण गराए।
नेविसंघको ऐतिहासिक गरिमा र विधान रक्षाको माग राखेका छन्। नेपालको लोकतान्त्रिक आन्दोलनमा संघको भूमिका महत्त्वपूर्ण रहेको उनीहरूको भनाई छ।
स्थापनाकालदेखि नै संगठनले कांग्रेसको आदर्श र सिद्धान्तलाई आत्मसात् गरेको विषय ज्ञापनपत्रमा समेटिएको छ। लोकतन्त्रका लागि विद्यार्थीले गरेको त्यागबाट निर्मित छवि जोगाउनु अहिलेको मुख्य चुनौती भएको उनीहरूको राय छ।
संगठनभित्रका कतिपय क्रियाकलाप 'अवैधानिक' र 'अनुशासनहीन' भएको ठहर गर्दै उनीहरूले त्यसको विरोध जनाए। नेविसंघलाई पार्टीबाट अलग्याउने उद्देश्यले सञ्चार माध्यममा भइरहेका प्रचारप्रति असन्तुष्टि व्यक्त गरे।
“अवैधानिक प्रक्रियाका आधारमा नेविसंघलाई पार्टीबाट अलग्याउने भन्दै सञ्चार माध्यममार्फत गरिएको प्रचार गम्भीर अनुशासनहीनता हो," ज्ञापनपत्रमा भनिएको छ, “यस्ता गतिविधिले संगठनको हित गर्दैनन्।"
यसैगरी, २०८२ चैत ६ गते त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा आयोजना गरिएको भनिएको बैठकको वैधानिकतामाथि पनि प्रश्न उठाइएको छ। उक्त बैठकमा विधान बमोजिमको गणपूरक संख्या नपुगेकाले त्यसलाई मान्यता दिन नसकिने उनीहरूको दाबी छ।
विधान विपरीतका यस्ता गतिविधिले संगठनलाई कमजोर बनाउने उनीहरूको निष्कर्ष छ। कार्यकर्ताले यस विषयमा गम्भीर हुन पार्टी नेतृत्वलाई अनुरोध गरेका छन्।
चैत ८, २०८२ आइतबार १४:१०:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।