वीरगञ्जमा परीक्षा स्थगित हुँदा विद्यार्थी आन्दोलित
वीरगञ्ज : वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा सोमबारदेखि सञ्चालन हुने भनिएको परीक्षा अन्तिम समयमा स्थगित भएपछि विद्यार्थीहरू आक्रोशित भएका छन्।
परीक्षा दिन करिब ३ हजारभन्दा बढी विद्यार्थी क्याम्पस पुगेका बेला ‘परीक्षा स्थगित’ को सूचना देखेपछि उनीहरूले प्रशासनविरुद्ध नाराबाजी गर्दै धर्ना दिएका हुन्।
'हाम्रो भविष्यमाथि राजनीति गर्न पाइँदैन', 'आन्तरिक विवादका कारण परीक्षा रोक्न पाइँदैन' जस्ता नारासहित विद्यार्थीहरूले क्याम्पस परिसरबाट विरोध र्याली समेत निकाले।
आन्दोलन उग्र बन्दै जाँदा विद्यार्थीहरूले वीरगञ्जको घण्टाघर चोकमा टायर बालेर प्रदर्शन गरेका थिए। प्रदर्शनका कारण मुख्य सडक दुवैतर्फ अवरुद्ध हुँदा यातायात पूर्ण रूपमा ठप्प भएको थियो।
स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रदर्शनका क्रममा केही स्थानमा तोडफोडको प्रयास भएपछि प्रहरी र विद्यार्थीबीच ठेलमठेल भएको थियो। प्रहरीले अवस्था नियन्त्रणमा लिन केही विद्यार्थीलाई नियन्त्रणमा समेत लिएको जनाएको छ।
यसबीच, क्याम्पस प्रशासन र प्राध्यापक संघबीचको असमझदारीका कारण समस्या उत्पन्न भएको बताइएको छ। प्राध्यापक संघले फागुन ३ गते सञ्चालक समितिलाई बुझाएको १६ बुँदे माग सम्बोधन नभएको भन्दै अनिश्चितकालीन हडताल घोषणा गरेका कारण परीक्षा स्थगित भएको हो ।
क्याम्पसका प्राध्यापक दिलीप कुमारले भने, "हामीले ७ गतेसम्मको अल्टिमेटम दिएका थियौँ, तर व्यवस्थापन समितिले हाम्रा मागप्रति कुनै चासो देखाएन । विवश भएर हामी आजदेखि अनिश्चितकालीन हडतालमा जानुपरेको हो।"
चैत ८, २०८२ आइतबार १३:२२:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।