विश्वकै उत्कृष्ट अमेरिकी लडाकु विमान 'एफ-३५' खसालेको इरानको दाबी, कसरी सम्भव भयो ?
एजेन्सी : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले गत १९ मार्चमा विश्वकै सबैभन्दा अत्याधुनिक मानिने अमेरिकी लडाकु विमान ‘एफ-३५’लाई खसालेको दाबी गरेको छ।
इरानी सरकारी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार इरानमा निर्मित ‘मजिद’ सर्ट-रेन्ज एयर डिफेन्स सिस्टमको प्रयोग गरी उक्त विमानलाई निशाना बनाइएको थियो।
अमेरिकी सैन्य शक्तिको प्रतीक मानिने एफ-३५ विमानलाई राडारले पत्ता लगाउन नसक्ने (स्टेल्थ) प्रविधिमा आधारित संसारकै उत्कृष्ट विमान मानिन्छ। तर, इरानले यस विमानको मुख्य कमजोरीका रूपमा इन्जिनबाट निस्कने ताप (इन्फ्रारेड रेडिएसन) लाई पहिचान गरी प्रहार गरेको जनाएको छ।
मजिद डिफेन्स सिस्टमले राडारको सट्टा इन्फ्रारेड प्रविधिमा काम गर्ने भएकाले विमानमा रहेका चेतावनी प्रणालीहरूले यस खतरालाई समयमै ठम्याउन नसकेको इरानको तर्क छ। इरानले यस कारबाहीका लागि एक विशेष रणनीतिक योजना अपनाएको बताएको छ।
विवरण अनुसार गत २८ फेब्रुअरीदेखि सुरु भएको तनावका क्रममा इरानले आफ्ना वास्तविक राडार प्रणालीहरू बन्द गरी सुरक्षित स्थानमा लुकाएको थियो। त्यसको सट्टा करिब १० हजार डलर लागतका नक्कली ‘डिकोय’ संरचनाहरू राखिएका थिए, जसले वास्तविक राडारको जस्तै सिग्नल दिन्थे।
अमेरिकी र इजरायली पक्षले ती नक्कली संरचनाहरूलाई नष्ट गरेपछि इरानको हवाई सुरक्षा प्रणाली समाप्त भएको ठानेर एफ-३५ विमानहरूलाई इरानको भित्री भूभागसम्म पठाएको दाबी गरिएको छ। अमेरिकी रक्षामन्त्री पीट हेगसेथले पनि १९ मार्चको बिहान इरानको हवाई सुरक्षा ध्वस्त भएको दाबी गरेका थिए। तर, सोही दिन इरानले आफ्ना लुकाइएका प्रणालीहरू अचानक सक्रिय पारी एफ-३५ लाई प्रहार गरेको बताइएको छ।
सन् २०२१ मा सार्वजनिक गरिएको ‘मजिद’ एयर डिफेन्स सिस्टम विशेष गरी ७०० मिटरदेखि ६ किलोमिटरसम्मको दुरीमा प्रहार गर्छ। यो प्रणाली मोबाइल प्लेटफर्ममा आधारित भएकाले यसलाई छिटो स्थानान्तरण गर्न सकिन्छ। इरानले जारी गरेको भिडियोमा केवल एउटा मिसाइलले नै एफ-३५ लाई खसाल्न पर्याप्त भएको देखाइएको छ।
अमेरिकी समाचार संस्था सीएनएनले पनि आफ्ना स्रोतहरूलाई उद्धृत गर्दै इरानी हमलाका कारण मध्यपूर्वमा एक एफ-३५ विमानले आकस्मिक अवतरण (इमर्जेन्सी ल्यान्डिङ) गर्नुपरेको उल्लेख गरेको थियो। यद्यपि, यी दाबीहरू इरानी सञ्चारमाध्यम र अधिकारीहरूमा आधारित छन्। अमेरिका वा अन्य स्वतन्त्र स्रोतहरूबाट उक्त घटनाको हालसम्म औपचारिक पुष्टि हुन बाँकी छ।
चैत ८, २०८२ आइतबार १२:३१:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।