सानेपामा कांग्रेस बैठक जारी, सभापति थापाको राजीनामाबारे निर्णय हुने

सानेपामा कांग्रेस बैठक जारी, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार पनि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ।

गत शुक्रबारदेखि सुरु भएको बैठकमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा र पार्टी सभापति गगन थापाले दिएको राजीनामाका विषयमा केन्द्रित रहेर छलफल भइरहेको छ।

बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको निर्वाचनको प्रारम्भिक समीक्षा प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्। शुक्रबारको बैठकमा उपसभापति शर्माले पार्टीले निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसक्नुका २७ बुँदे कारणहरू पेस गरेका थिए।

निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको पराजयको नैतिक जिम्मेवारी लिँदै सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्। यद्यपि, आइतबारको बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरू सभापतिको राजीनामा स्वीकृत गर्न नहुने पक्षमा उभिएका छन्। सदस्यहरूले सभापतिलाई पदीय जिम्मेवारीबाट अलग नहुन र नेतृत्व सुदृढीकरणमा लाग्न आग्रह गरिरहेका छन्।

अधिकांश सदस्यहरूले 'पार्टीलाई संकटको समयमा नेतृत्वविहीन राख्न नहुने' तर्क गरिरहेका छन्। आइतबारको बैठकले सभापति थापाको राजीनामाका सम्बन्धमा औपचारिक निर्णय लिने सम्भावना छ। बैठकमा सदस्यहरूले पार्टीको आन्तरिक संरचनामा सुधार र आगामी कार्यदिशाका बारेमा समेत सुझाव दिइरहेका छन्।

चैत ८, २०८२ आइतबार ११:४६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।