हिउँमा फसेका यात्रुको उद्धार, हिउँ पन्छाएर गन्तव्यतर्फ पठाइयो ७ बस

हिउँमा फसेका यात्रुको उद्धार, हिउँ पन्छाएर गन्तव्यतर्फ पठाइयो ७ बस
फाइल तस्बिर

ढोरपाटन : भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ-पूर्वी रुकुम खण्डमा अलपत्र परेका दुई सय बढी यात्रुको सुरक्षाकर्मीले उद्धार गरेका छन्।

शुक्रबार रातिदेखि परेको भारी हिमपातका कारण पातिहाल्नेमा फसेका दुई सय २० भन्दा बढी यात्रुलाई नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीले सडकको हिउँ पन्छाएर सुरक्षित स्थानतर्फ निकालेको हो।

पूर्वी रुकुमका सहायक प्रमुख जिल्ला अधिकारी समिर गौतमका अनुसार सात वटा बस, १० वटा मोटरसाइकल र एउटा जिपमा रहेका यात्रु समस्यामा परेका थिए।

उनले दुई जिल्लाको सिमाना क्षेत्रको करिब तीन किलोमिटर सडकको हिउँ पन्छाएर सडक खुलाएको र अब मौसम हेरेर मात्रै यात्रा गर्न आग्रह गरे। उनले भने, “शुक्रबार साँझदेखि नै हिमपात भएको थियो, बिहानसम्म हिउँले सडक अवरुद्ध भयो। हामीले त्यो खबर पाउना साथ भूमे गाउँपालिकाको मेसिन लिएर सुरक्षाकर्मीसहित खटेका थियौं, सडक खुलाएर यात्रु पनि गन्तव्यतिर लागेका छन्।”

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले बागलुङ खण्डमा हिउँ परे पनि यातायात नरोकिएको बताए। काठमाडौं, पोखरालगायतका स्थानबाट रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, सल्यान, दैलेखलगायत स्थानमा पुग्ने सवारीसाधनलाई सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न भनिएको उनले जानकारी दिए। 

चैत ७, २०८२ शनिबार २०:३४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।