रविले फोन गरेर भने- 'तपाईं छुट्नुभयो', प्रकाशको जवाफ- 'पद चाहिँदैन, अब इन्टरटेनर मात्र बन्छु'
काठमाडौं : 'प्रकाश जी, तपाईं छुट्नुभयो। तपाईं जत्तिको मान्छेले संवैधानिक व्यवस्था बुझ्नुहुन्छ, केही छैन। पार्टीमा बसेर पनि देशका लागि योगदान गर्न सकिन्छ,' राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले टेलिफोनमार्फत कलाकार प्रकाश सपुतलाई भने।
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिक उम्मेदवार बनेका सपुतले उक्त फोनको जवाफमा कुनै गुनासो गरेनन्। उनले भने, "आगामी कयौं पुस्ताले धन्यवाद दिने गरी काम गर्नुहोला। अब साँच्चिकै देश बन्छ भन्ने अनुभूति दिलाउनुहोला। यो देश हामी सबैको हो भन्ने महसुस गराउनु होला। यदि अहिले परिवर्तनको पक्षमा उभिएकै कारण मेरो कलाकारिताको कद घट्दै गएछ भने मेरो माइक समाउने हातले गाउँ फर्केर हलो समाउन सक्छ। गरिखान सकिन्छ। पिर छैन।"
रास्वपाबाट समानुपातिक उम्मेदवार बनेका उनी सांसदका लागि सिफारिस गर्दा परेनन्। जसबारेमा शनिबार सामाजिक सञ्जालमा लामो स्टाटस् लेख्दै उनले प्रष्टीकरण दिए। प्रकाशले आफू सांसद चयन नभए पनि निर्वाचनमा होमिनुको उद्देश्य पूरा भएको बताए।
उनले आफ्नो उम्मेदवारी केवल पद प्राप्तिका लागि मात्र नभई तीन वटा मुख्य लक्ष्यमा केन्द्रित रहेको प्रष्ट पारे। प्रकाशका अनुसार, नयाँ राजनीतिक शक्तिका रूपमा रास्वपालाई स्थापित गर्न सहयोग गर्ने, बालेन शाहको नेतृत्वलाई बलियो बनाउने र राज्यको नीति निर्माण तहमा उत्पीडित समुदायको मुद्दा जीवित राख्ने उनको उद्देश्य थियो।
"निर्वाचन पछि मलाई 'म छुटेँ' भन्ने त लागेको छ, तर आफ्ना उद्देश्यहरू पूरा भएकोमा छोटो तयारीका बीच उत्कृष्ट नम्बर लिएर पास भएको विद्यार्थी जस्तै सन्तुष्ट छु," उनले भनेका छन्।
आफूलाई 'मौसमी राजनीतिज्ञ' वा 'अवसरवादी' भन्नेहरूको चर्चालाई सम्बोधन गर्दै उनले आफ्नो पारिवारिक र सामाजिक पृष्ठभूमिका कारण राजनीतिप्रति सानैदेखि चासो रहेको उल्लेख गरेका छन्। दलित र उत्पीडित समुदायमा जन्मिएको कारण बाल्यकालमा भोगेको जातीय र वर्गीय विभेदले आफूमा विद्रोहको भावना रहेको र त्यसलाई सिर्जनामार्फत व्यक्त गर्दै आएको उनको भनाइ छ।
विगतका राजनीतिक आन्दोलनहरूमा सहभागी हुन नपाएकोमा पछुतो रहेको बताउँदै प्रकाशले यस पटकको 'परिवर्तनको लहर' मा सहभागी हुन रास्वपा रोजेको बताए। यदि सांसद भएको भए आफूले दलित अधिकार र मौलिक संस्कृतिको क्षेत्रमा ठोस नीति बनाउन गृहकार्य समेत गरेको उनले खुलाए।
प्रकाशले कुनै पनि राजनीतिक नियुक्ति वा पदका लागि आफ्नो दाबी नरहने प्रष्ट पारे। उनले सभापति लामिछानेलाई भनेका छन्, "म आफ्नो व्यक्तिगत स्वार्थको लागी कुनै दिन तपाईंहरू कहाँ आउने छैन। मलाई कतै एड्रेस गर्न कुनै निकायमा नियुक्ति दिने यताउता सुझाव देलान्। त्यता केही नसोच्नुहोला।"
उनले अब आफू कलाकारितामै रहने उल्लेख गरे। प्रकाशले लेखेका छन्, "म अब ढुक्कले जनतालाई मनोरञ्जन दिन चाहन्छु। मेरो बाल मस्तिष्कले बोकेको सामाजिक र राजनैतिक चेतको भारी बिसाएर केवल इन्टरटेनर हुन चाहन्छु। म समाज र राज्यको नजरमा एक समान मान्छे हुन चाहन्छु।”
चैत ७, २०८२ शनिबार १६:२०:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।