प्रधानमन्त्रीलाई रक्षा बमको खुला पत्र - 'प्रतिवेदन सार्वजनिक गरिदिनुस्, मेरो हातमा रगत लागेको छ कि छैन जान्न चाहन्छु'

प्रधानमन्त्रीलाई रक्षा बमको खुला पत्र - 'प्रतिवेदन सार्वजनिक गरिदिनुस्, मेरो हातमा रगत लागेको छ कि छैन जान्न चाहन्छु'

काठमाडौं : जेनजी प्रतिनिधि रक्षा बमले जेन–जी आन्दोलनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रधानमन्त्रीलाई एक खुल्ला पत्र लेखेकी छन्।

उनले विगतमा संकटपूर्ण अवस्थामा नेतृत्व सम्हालेर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिँदै  सडकमा उठ्न थालेका मागहरूप्रति गम्भीर ध्यानाकर्षण गराएकी हुन्। 

उनले प्रतिवेदन सार्वजनिक नहुँदा प्रधानमन्त्रीमाथि गरेको विश्वासको बदलमा अहिले आफूले अनेकौँ लाञ्छना र गलत आरोपहरूको बोझ बोक्नुपरेको बताएकी छन्। "फेसबुकका इनबक्स र कमेन्टहरूमा म यसलाई सुरुदेखि नै भोग्दै आइरहेकी छु, यो मेरो दैनिकी जस्तै भइसकेको छ," उनले पत्रमा उल्लेख गरेकी छन्।

अपिलमा उनले पछिल्लो समय सामाजिक सञ्जाल र सडकमा आफूमाथि गम्भीर प्रश्न र दुर्व्यवहार बढेको उल्लेख गर्दै आफूमाथि लागेका आरोपहरूको जवाफ अब स्पष्टीकरणले मात्र नपुग्ने भन्दै सत्यता पत्ता लगाउन प्रतिवेदन सार्वजनिक गरेर वास्तविकता बाहिर ल्याउन आग्रह गरेकी छन्।

"मेरो हातमा रगत लागेको छ कि छैन, म त्यो जान्न चाहन्छु। मैले सिंहदरबार जलाएको हो कि होइन, म त्यो जान्न चाहन्छु। म कतैबाट परिचालित छु कि छैन, यी सबै प्रश्नहरूको उत्तर म पनि जान्न चाहन्छु। र म यो पनि जान्न चाहन्छु कि हाम्रो शान्तिपूर्ण आन्दोलन एकाएक हिंसात्मक कसरी भयो? गोली चलाउने आदेश कसले दियो?", उनले लेखेकी छन्, "सिंहदरबार जलाउने सलाई कसको हातमा थियो? त्यसैले, कृपया प्रतिवेदन सार्वजनिक गरिदिनुहोस्। त्यो तपाईको जिम्मेवारी हो।"

न्याय पर्खिरहेका आँखाहरू प्रधानमन्त्रीतिरै फर्किएको उल्लेख गर्दै उनले सत्यतथ्य बाहिर ल्याउनु सरकारको जिम्मेवारी भएको बताएकी छन्। "इतिहासले तपाईंलाई कसरी सम्झिने, त्यो निर्णय आज तपाईंकै हातमा छ", भन्दै उनले प्रतिवेदन सार्वजनिक गरेर भ्रम चिर्न आग्रह गरेकी छन्।

चैत ७, २०८२ शनिबार १४:५०:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।