कुखुरापालन व्यवसायबाट वार्षिक ६१ अर्बको कारोबार, उत्पादन र आम्दानीमा बागमती अगाडि
काठमाडौं : नेपालको कृषि अर्थतन्त्रमा कुखुरापालन व्यवसाय एक बलियो खम्बाको रूपमा स्थापित भएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०८१/८२’ अनुसार यस क्षेत्रले मुलुकको अर्थतन्त्रमा वार्षिक ६० अर्ब ९६ करोड रुपैयाँ भन्दा बढीको योगदान पुर्याएको देखिएको छ।
तथ्याङ्कअनुसार नेपालमा वार्षिक करिब ११ करोड ७१ लाख ब्रोइलर कुखुरा पाल्ने गरिएको छ, जसमध्ये १० करोडभन्दा बढी कुखुरा बिक्री हुने गरेका छन्। यसबाट मात्रै वार्षिक रूपमा देशभर २५ करोड ८६ लाख २६ हजार केजी मासु उत्पादन हुने गरेको छ। ब्रोइलर बिक्रीबाट मात्रै ५७ अर्ब ८६ करोड रुपैयाँको आम्दानी हुने गरेको छ ।
कोइलर तथा गिरिराज जातका कुखुराबाट १ अर्ब ५६ करोड र लेयर्स/प्यारेन्ट कुखुराको मासुबाट १ अर्ब ३ करोड रुपैयाँभन्दा बढी सङ्कलन हुने गरेको सर्वेक्षणले देखाएको छ।
कुखुरा उत्पादन र आम्दानी दुवै हिसाबले बागमती प्रदेश नेपालकै पहिलो स्थानमा रहेको छ। बागमतीमा मात्रै ९ करोड ३९ लाख केजी मासु उत्पादन हुन्छ, जसको बजार मूल्य २१ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी छ। गण्डकी र सुदूरपश्चिम प्रदेशमा पनि व्यावसायिक कुखुरापालनबाट राम्रो आम्दानी भइरहेको पाइएको छ।
ढुवानी खर्च र भौगोलिक विकटताका कारण मासुको मूल्यमा प्रदेशगत भिन्नता देखिएको छ। कर्णाली प्रदेशमा ब्रोइलरको औसत मूल्य सबैभन्दा बढी २७८ रुपैयाँ प्रति केजी रहेको छ। मधेश प्रदेशमा सबैभन्दा कम औसत १९२ रुपैयाँ प्रति केजी मा कुखुरा बिक्री हुने गरेको छ ।
सर्वेक्षणका अनुसार, ब्रोइलर कुखुरालाई औसत ४३.७ दिन पालेर सरदर २.६ केजी तौल पुगेपछि बिक्री गर्ने गरिएको छ। यद्यपि, व्यवसायमा जोखिम पनि उत्तिकै देखिएको छ। कुल पालिएका कुखुरामध्ये करिब १०.४ प्रतिशत (१ करोड २२ लाख) कुखुराको मृत्यु हुने गरेको पाइएको छ। साथै, करिब ११ लाख ७६ हजार कुखुरा घरायसी उपभोगमा प्रयोग हुने गरेका छन् ।
समग्रमा, कुखुरापालन क्षेत्रले नेपालको ग्रामीण र सहरी अर्थतन्त्रमा ठुलो रोजगारी सिर्जना गर्नुका साथै आत्मनिरभरतातर्फ महत्वपूर्ण भूमिका खेलिरहेको तथ्याङ्कले पुष्टि देखाएको छ।
चैत ७, २०८२ शनिबार १३:३३:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।