इरानले जापानी जहाजलाई स्ट्रेट अफ होर्मुजमा चल्न दिने

इरानले जापानी जहाजलाई स्ट्रेट अफ होर्मुजमा चल्न दिने

एजेन्सी :  इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण स्ट्रेट अफ होर्मुजबाट जापानसँग सम्बन्धित पानीजहाजहरूलाई आवतजावत गर्न दिन तयार रहेको बताएको छ।

इरानले यस्तो बताए पनि जापानले भने सतर्कता अपनाउँदै इरानको वास्तविक मनसाय बुझ्नुपर्ने प्रतिक्रिया दिएको छ।

इरानी विदेशमन्त्री अब्बास अरागचीले जापानको समाचार संस्था क्योडो न्युजलाई दिएको अन्तर्वार्तामा उक्त प्रस्ताव राखेका हुन्।

क्योडो न्युजका अनुसार, अरागचीले प्रतिबन्धलाई अस्थायी रूपमा हटाउने उद्देश्यले जापानी पक्षसँग वार्ता सुरु भइसकेको समेत जानकारी दिएका छन्।

इरानको यो प्रस्तावको जवाफमा, एक जापानी सरकारी अधिकारीले क्योडोसँग कुरा गर्दै ‘प्रतिबन्ध हटाउने सबैभन्दा प्रभावकारी तरिका इरानी पक्षसँग प्रत्यक्ष वार्ता गर्नु नै हो’ भनेका छन्।

उनले अमेरिकालाई चिढ्याउनबाट बच्नका लागि जापानले अत्यधिक सावधानी अपनाउनुपर्नेमा जोड दिए।

ती अधिकारीले थपे, ‘यदि जापानी जहाजहरूलाई यो समुद्री मार्गबाट आवतजावत गर्न अनुमति दिइयो भने पनि, यसले हालको ऊर्जा संकटको पूर्ण समाधान भने गर्ने छैन।’

यसैगरी, जापानको विदेश मन्त्रालयका अर्का एक अधिकारीले क्योडोलाई बताएअनुसार अरागचीको बयान पछाडिको वास्तविक मनसाय के हो भन्नेबारे सावधानीपूर्वक मूल्यांकन गरिनुपर्छ।

चैत ७, २०८२ शनिबार १२:३२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।