मकवानपुर प्रहरीद्वारा ७ फरार प्रतिवादी पक्राउ, क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पनि नियन्त्रणमा

मकवानपुर प्रहरीद्वारा ७ फरार प्रतिवादी पक्राउ, क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पनि नियन्त्रणमा

हेटौँडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न कसुरमा संलग्न भई फरार रहेका ७ जनालाई पक्राउ गरेको छ। 

प्रहरी उपरीक्षक श्यामबहादुर खत्री र डिआइजी पुष्कर बोगटी को नेतृत्वमा खटिएको प्रहरी टोलीले विभिन्न जिल्लामा ठगी गर्दै फरार भई मकवानपुरमा लुकीछिपी बसेका व्यक्तिलाई पक्राउ गरेको हो ।

पक्राउ परेका ७ जनालाई नै आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित जिल्लाहरूमा पठाइएको छ। पछिल्लो समय मकवानपुरलाई लुक्ने स्थानका रूपमा प्रयोग गर्ने प्रवृत्ति बढेपछि प्रहरीले पक्राउ अभियानलाई तीव्रता दिएको छ।

यस्तै क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने कार्यमा संलग्न एक महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ। विशाल के.सी.को जाहेरीका आधारमा मकवानपुर राक्सिराङ गाउँपालिका–१ बस्ने ३७ वर्षीया धनसानी गोलेलाई पक्राउ गरिएको हो।

वैदेशिक रोजगार ठगी सम्बन्धी कसुरमा जारी पक्राउ पुर्जी बमोजिम उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँ पठाइने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले विदेश पठाइदिन्छु भन्दै ठगिएका अन्य पीडितहरूलाई समेत प्रहरीको सम्पर्कमा आउन र आधिकारिक प्रक्रिया अपनाएर मात्र वैदेशिक रोजगारीमा जान अनुरोध गरेको छ।

चैत ७, २०८२ शनिबार ११:४८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।