अविरल वर्षा र हिमपातका कारण बीपी, दाउन्ने र केआई सिंह राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

अविरल वर्षा र हिमपातका कारण बीपी, दाउन्ने र केआई सिंह राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

काठमाडौं : अविरल वर्षा, पहिरो र भारी हिमपातका कारण देशका विभिन्न प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्।

नेपाल प्रहरीका अनुसार हिमपात, पहिरो जाने र खोलामा पानीको बहाव बढ्ने क्रम जारी रहेकाले यात्रा जोखिमपूर्ण बनेको छ।

बीपी राजमार्ग: रोशी क्षेत्रमा यातायात पूर्ण ठप्प
काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा खोलाको बहाव बढेपछि बिहानदेखि बीपी राजमार्ग अवरुद्ध भएको छ। रोशी गाउँपालिकाको चारसयबेँसी, गिम्दी, बाउन्ने र कालढुङ्गामा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय प्रमुख शुनिल धाँजूले जानकारी दिए। उनका अनुसार यसअघि खोलाबाटै सडक सञ्चालनमा ल्याइएकाले पानीको बहाव घटेपछि मात्रै सडकलाई सञ्चालनमा ल्याउन सकिने देखिएको छ । 

उक्त क्षेत्रमा गतसाल बाढीपहिरोले राजमार्ग क्षतिग्रस्त बनाएपछि खोलामै अस्थायी सडक बनाएर सञ्चालनमा ल्याइएको थियो।

यद्यपि, सडक विभागमार्फत सुरक्षाकर्मीको समन्वयमा सडक खुलाउने प्रयास भने सुरु गरिएको छ । 

यसैबीच वर्षाका कारण बिपी राजमार्गको रोशी क्षेत्रको विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि धुलिखेलको काभ्रेभञ्ज्याङ र भकुण्डे तथा पूर्वतर्फबाट राजधानी प्रवेश गर्ने नेपालथोक र मङ्गलटारमा सवारीसाधन होल्ड गराइएको धाँजूले बताए।

सिद्धार्थ राजमार्ग: ढुङ्गा खस्ने जोखिमले यात्रा रोकियो
पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान क्षेत्रमा ठुलो वर्षासँगै सडक माथीबाट ढुङ्गा खसिरहेकाले मानवीय क्षतिको जोखिम बढेको छ। जोखिम न्यूनीकरणका लागि हाललाई यस खण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ।

मध्यपहाडी लोकमार्ग: हिमपातले यात्रु अलपत्र
रुकुम पूर्वको भुमे गाउँपालिका–१ स्थित लुकुम–पातिहाल्ना खण्डमा भारी हिमपातका कारण सडक अवरुद्ध भएको छ। गएरातिदेखि परेको हिउँले सडक ढाकिएपछि दर्जनौँ सवारीसाधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।

नारायणगढ–बुटवल र केआई सिंह राजमार्ग: एकतर्फी सञ्चालनमा
हावाहुरी, वर्षा र सडक मर्मतका कारण नारायणगढ बुटवल सडकखण्डको दाउन्नेमा सडक एकतर्फी मात्र खुलेको छ। सडक चिप्लो भएकाले मालवाहक सवारीलाई बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म रोकेर यात्रुवाहक र आकस्मिक सेवालाई प्राथमिकता दिइएको छ।

केआई सिंह राजमार्गको डडेलधुराको गन्यापधुरा गाउँपालिका– ५ स्थिति जङ्गल स्पार्कमा पहिरो खसेका कारण यो राजमार्ग पनि हाल एकतर्फी मात्र सञ्चालनमा छ।

चैत ७, २०८२ शनिबार ११:१४:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।