देशका विभिन्न स्थानमा आज पनि हावाहुरी र असिनापानीको सम्भावना, आइतबारदेखि मौसममा सुधार आउने

देशका विभिन्न स्थानमा आज पनि हावाहुरी र असिनापानीको सम्भावना, आइतबारदेखि मौसममा सुधार आउने

काठमाडौं : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशभरको मौसम प्रभावित भएको छ।

तुलनात्मक रुपमा मौसममा केही सुधार आएको भए तापनि शनिबार देशका धेरैजसो स्थानमा बदली रहनुका साथै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनापानीको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्।

स्वतन्त्र मौसमविद् तथा मौसम पूर्वानुमान महाशाखा दुवैले आज दिनभर मौसम पूर्ण रुपमा नखुल्ने र केही स्थानमा भारी वर्षासमेत हुन सक्ने प्रक्षेपण गरेका छन्।

चितवन, बागमती र मधेश प्रदेशमा भारी वर्षाको सम्भावना
मौसमविद् उज्वल उपाध्यायका अनुसार शनिबार बिहानै भारतको बिहार (गोरखपुर-बगाहा) हुँदै चितवनको माडी क्षेत्रबाट एउटा वर्षा प्रणाली नेपाल प्रवेश गरेको छ।

यो प्रणाली बिस्तारै उत्तर-पूर्व सर्दै गएकाले पहिलेदेखि कायम प्रणालीसँग ठोक्किएर चितवन (भण्डारा, टाँडी, भरतपुर, मुग्लिङ), धादिङ र उत्तरी मकवानपुरमा बढीमा ३ घण्टासम्म ठूलो वर्षा गराउने सम्भावना छ।

यो प्रणाली बिहान १० देखि ११ बजेको आसपासमा काठमाडौं उपत्यका आइपुग्ने तर त्यतिबेलासम्म कमजोर भइसक्ने भएकाले काठमाडौंमा ठूलो वर्षाको सम्भावना भने कम रहेको उपाध्यायले जानकारी दिएका छन्।

यसैगरी, अर्का मौसमविद् विनोद पोखरेलले शनिबार बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म बागमती र मधेश प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको बताएका छन्। उनले यस प्रणालीलाई ठूलो पश्चिमी वायुको प्रभावले आएको ‘असामान्य र ठूलो प्रि-मनसुन आँधी’को संज्ञा दिएका छन्।

पोखरेलका अनुसार हाल कोशी प्रदेशमा पनि भारी वर्षा भइरहेको छ र यो क्रम मेघगर्जनसहित रातिसम्म जारी रहेर आइतबारदेखि कम हुँदै जानेछ।

दिउँसो र रातिको मौसम कस्तो रहनेछ?
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश लगायत बाँकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

आइतबारदेखि मौसम खुल्दै जाने
शुक्रबारको हावाहुरी र असिनापानीले देशका धेरै ठाउँमा जनजीवन प्रभावित बनाउनुका साथै भौतिक तथा कृषिमा क्षति पुर्याएको थियो। शनिबारको वर्षा सकिएपछि पश्चिम तथा काठमाडौँलगायत मध्य क्षेत्रमा मौसम बिस्तारै खुल्दै जाने मौसमविद् उपाध्यायले बताएका छन्।

समग्रमा आइतबारदेखि मौसममा सुधार आउने मौसमविद्हरुको भनाइ छ। यद्यपि, आज पनि चट्याङ, हावाहुरी र असिनापानीको सम्भावना कायमै रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखा तथा सरोकारवाला निकायले सम्पूर्ण सर्वसाधारणमा आग्रह गरेका छन्।

चैत ७, २०८२ शनिबार ०७:१३:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।