सामाजिक सञ्जालमा भिडियो राख्ने सात नेपाली खाडीमा पक्राउ
काठमाडौं : पश्चिम एसियामा जारी तनावका बीच सामाजिक सञ्जालमार्फत त्रास र अफवाह फैलाउने सामग्री सम्प्रेषण गरेको आरोपमा खाडी मुलुकहरूमा रहेका सात जना नेपाली पक्राउ परेका छन्। युएई र साउदीमा तीन तीन जना तथा कुवेतमा एक जना पक्राउ परेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
इरान र इजरायल-अमेरिकाबीच बढ्दो तनावका क्रममा युएई लगायतका क्षेत्रमा खसेका ड्रोन तथा मिसाइलका अवशेषहरूको फोटो खिच्ने र भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने काममा संलग्न देखिएपछि उनीहरूलाई पक्राउ गरिएको हो।
मन्त्रलालका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलले त्रास वा डर फैलाउने उद्देश्यका फोटो, भिडियो वा अन्य कन्टेन्ट बनाउने तथा त्यस्ता सामग्री सेयर गर्ने सात जना नेपाली पक्राउ परेका बताए।
“सङ्कटको समयमा आफू बसेको देशका सरकारले जारी गरेका सुरक्षासम्बन्धी नियम कानुनको पूर्ण पालना गर्नु सबैको कर्तव्य र दायित्व हो,” उनले भने, “हालको विषम परिस्थितिमा जारी भएका सूचना एडभाइजरी तथा निर्देशनहरू कानुनसरह लागू हुने भएकाले उल्लङ्घन गरेमा ठूलो जरिवाना हुने, जेल बस्नुपर्ने र डिपोर्ट हुनुपर्नेलगायतका गम्भीर कानूनी कारबाही भोग्नुपर्ने हुन्छ।”
नेपालले यही मार्च १ तारिखमा प्रेस वक्तव्य जारी गरी द्वन्द्वरत पक्षहरूलाई तनाव थप नबढाउन, अधिकतम संयमता अपनाउन, अन्तर्राष्ट्रिय कानुनको पालना गर्न, नागरिक तथा नागरिक पूर्वाधारहरूको सुरक्षामा ध्यान दिन तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको सम्मान गर्न आग्रह गरेको थियो। त्यसैगरी, आपत्कालीन नियन्त्रण कक्षमा हालसम्म ७८ वटा कलसहित १७० पटक सम्पर्क गरिएको छ भने धेरैजसो विषयहरू सुरक्षा र श्रम स्वीकृतिसँग सम्बन्धित रहेका मन्त्रालयले जनाएको छ।
नेपालका १० वटै नियोगहरूमा पनि हटलाइन राखिएको र त्यहाँबाट समस्यामा परेका नेपालीहरूको विवरण लिने र समन्वय गर्ने कार्य भइरहेको मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी खड्काले जानकारी दिए।
“हाल अनलाइन प्रणालीमा, नियोगमा र यहाँ नियन्त्रण कक्षमा फोन गर्ने ‘म असुरक्षित छु’ भन्ने खालको समस्या बताउने क्रम क्रमशः घट्दै गएको देखिन्छ,” उनले भने, “कन्ट्रोल रूममा आज कुनै पनि सम्पर्क (कल, मेसेज वा इमेल) गरिएको छैन भने हिजो बिहीबारमात्र सात कल वा मेसेज प्राप्त भएका थिए।”
आपत्कालीन प्रतिकार्य समूहको तेस्रो बैठकका निर्णयअनुसार पुनः श्रम स्वीकृतिको विषय लागू भएको उनले बताए। त्यसैगरी, मन्त्रालयले हालको राहदानी प्रणालीबाट नयाँ प्रणालीमा स्थानान्तरण गर्ने प्रक्रियामा रहेको जनाएको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले नयाँ राहदानी प्रणाली कार्यान्वयन योजनाका सम्बन्धमा जानकारी गराए।
चैत ६, २०८२ शुक्रबार २०:२२:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।