गगन थापाको राजीनामा अस्वीकृत, हारको कारण नसच्चिएको कार्यशैली
काठमाडौं : नेपाली कांग्रेसको सभापतिबाट गगन थापाले दिएको राजीनामा केन्द्रीय समितिले अस्वीकृत गरेको छ। पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले थापाले सभापति पदबाट दिएको राजीनामा प्रस्तावको रूपमा पेस गरेका थिए। शर्माले राजीनामाबारे निर्णय गर्न पेस गरे लगत्तै बैठकले अस्वीकृत गर्ने निर्णय गरेको हो।
बैठकको दोस्रो प्रस्ताव फागुन २१ को निर्वाचनको परिणामको समीक्षा छ। सोबारे शुक्रवारकै बैठकमा छलफल सुरु भएको छ। बैठकमा पेस भएको समीक्षामा २०७९ को स्थानीय तहको निर्वाचन र संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार र नयाँ दलका सांसदहरूको जितले अब पुराना दल नसुध्रिए मतदाताले मत बदल्ने सन्देश दिए पनि ठूला दलले आफ्नो कार्यशैली नबल्दाको आक्रोशको परिणाम फागुन २१ को निर्वाचनमा देखिएको उल्लेख छ।
"२०७९ को स्थानीय तहको निर्वाचनमा काठमाडौं, धरान र धनगढीमा स्वतन्त्र उम्मेदवारको जितपछि नै मतदाता विकल्पको खोजीमा रहेको भन्दै नयाँ दलको जन्म भएको थियो," निर्वाचन समीक्षा प्रतिवेदनमा छ" संघीय निर्वाचनमा समेत राम्रो मत ल्याउँदा पनि पुराना दलहरूले आफ्नो कार्यशैली सुधार्न सकेनन्। सरकार गठन नै मुख्य बन्दा मतदातामा चरम निराशा बढायो।"
चैत ६, २०८२ शुक्रबार १७:४०:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।