पश्चिम एसियाको अवस्था सामान्यतर्फ, उडान सहज बनाउन परराष्ट्रको पहल
काठमाडौं : परराष्ट्र मन्त्रालयले पश्चिम एसियाली श्रम गन्तव्य मुलुकहरूको अवस्था क्रमशः सामान्य बनिरहेको दाबी गरेको छ। सुरक्षा स्थितिमा सुधार आएपछि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिसम्बन्धी जानकारी लिनेहरूको सङ्ख्यामा वृद्धि भएको पनि जनाएको छ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहसचिव रामकाजी खड्काले यस क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराए। उनका अनुसार पश्चिम एसियाली मुलुकहरूमा स्थिति सहज भएसँगै श्रम स्वीकृतिका विषयमा सोधपुछ बढेको छ।
मन्त्रालयले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्समार्फत दमाम, दुबई, मस्कट, दोहा, शारजाह र अबुधाबीमा यथाशीघ्र उडान सञ्चालनका लागि प्रक्रिया अगाडि बढाएको छ। यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई आवश्यक सिफारिस समेत गरिएको छ।
उडान अनुमतिका लागि अहिले विभिन्न तहमा पत्राचार र समन्वयको कार्य जारी छ। यसैगरी, आपत्कालीन अवस्थालाई ध्यानमा राखेर 'इमर्जेन्सी कन्ट्रोल रुम' सञ्चालनको तयारी पूरा भएको छ। यसका लागि आवश्यक 'स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर' (एसओपी) अनुमोदन भई हाल कार्यान्वयनको चरणमा छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०८२ चैत ३ गतेदेखि ती मुलुकहरूमा श्रम स्वीकृति दिने कार्य स्थगित गरेको थियो। विशेष गरी इरान-इजरायल द्वन्द्व प्रभावित क्षेत्र र हवाई मार्ग पूर्ण रूपमा नखुलेका कुवेत, बहराइन तथा इराक बाहेक अन्य स्थानमा हवाई सेवा सुचारु छ।
मन्त्रालयले यात्रु स्वयंले भाडा बेहोर्ने गरी उडान सञ्चालन गर्न प्राधिकरणलाई निर्देशन दिएको छ। पर्मिट प्रक्रियालाई द्रुत रूपमा पूरा गर्न मन्त्रालयले आवश्यक समन्वय गरेको छ।
चैत ६, २०८२ शुक्रबार १७:१९:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।