एक पटकको हारले नेतृत्वको परीक्षण हुँदैन : केसी

एक पटकको हारले नेतृत्वको परीक्षण हुँदैन : केसी

काठमाडौं : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्र अहिले गम्भीर आत्मसमीक्षा र अभूतपूर्व एकताको खाँचो रहेको बताएका छन्। निर्वाचन परिणाम र पार्टीभित्र विकसित परिस्थितिबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले हारबाट कोही आत्तिन नहुने धारणा राखे।

केसीले भने, "अहिलेको वस्तुगत परिस्थिति जुन ढंगले विकसित भएको छ, त्यसलाई गम्भीर रूपले विश्लेषण, समीक्षा र त्यसको निर्मम मीमांसा गरेर अबको बाटो कसरी लिनु पर्छ भनेर कांग्रेसले सोच्नु जरुरी छ।"

सभापति गगन थापाको राजीनामाको प्रसंग केसीले एउटा मात्र चुनावको हार र जितले नेतृत्वको परीक्षण हुन नहुने तर्क गरे। विश्व राजनीतिका उदाहरण दिँदै उनले भने, "संसारमा धेरै नेताहरूले विन्स्टन चर्चिलले द्वितीय विश्वयुद्धमा जिताए उनले नै पछि चुनाव हारे। इन्दिरा गान्धी हारेको पनि तपाईंहरुलाई थाहा छ। त्यसैले एक चुनावको हार र जितबाट नेतृत्वको परीक्षण हुनु गलत हुन्छ।"

उनले अगाडि थपे, "सम्पूर्ण इतिहासकै, दसौं वर्षदेखि थुप्रिएको विकृति, विसंगति थियो। त्यो ५० दिनभित्र के गर्न सकिन्छ ?" पार्टीभित्रको आन्तरिक कलह र सामाजिक सञ्जालमा हुने टीकाटिप्पणीप्रति संकेत गर्दै उनले एकतामा जोड दिए।

"कांग्रेसभित्र फेरि अभूतपूर्व एकताको आवश्यकता छ। एकले अर्कोलाई पन्छाउने, नकारात्मक दृष्टिकोणले हेर्ने र एकले अर्कोलाई आक्षेप-प्रत्याक्षेप लगाएर मुक्ति हुनेभन्दा पनि समग्र रूपबाट फेरि कांग्रेसलाई एकीकृत बनाएर कसरी लिएर जान सकिन्छ, त्यसतर्फ सोच्न पर्छ," उनले भने।

उनले संसदीय दलको नेतामा आफ्नो दाबी रहने बताए। संसदीय अनुभवको स्मरण गर्दै उनले भने, "स्वतः दाबी हुन्छ, म सबभन्दा त्यहाँको सिनियर पनि हुँ, सबभन्दा संसदीय अभ्यास र यात्रामा मैले योगदान गरेको छु। २०४७ साल पछिको संसद कांग्रेसको सिंगै धान्ने मध्ये म पनि हुँ।"

उनले अगाडि भने, "सहमतिपूर्ण ढंगले नै निष्कर्ष निस्कियोस्, निस्किनु पर्छ भन्ने छ। अब बलजप्ती कसैले कसैलाई बनाउन खोज्यो भने, म नभए अर्को लड्ला।"

निर्वाचनको समग्र परिणामलाई नकारात्मक रूपमा मात्र नहेर्न आग्रह गर्दै केसीले भने, "अहिले ३८ सिट हामी दोस्रो पोजिसनमा छौं। १८ सिट जित्यौं, एमाले जस्तो संगठित शक्तिभन्दा हामीमाथि छौं, यो पराजय हुँदाहुँदै पनि हाम्रो विजय हो भनेर सोच्नुस्।"
 

चैत ६, २०८२ शुक्रबार १६:०१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।