रक्षा बममाथि भएको दुर्व्यवहारप्रति नेपाल जेनजी फ्रन्टको आपत्ति

रक्षा बममाथि भएको दुर्व्यवहारप्रति नेपाल जेनजी फ्रन्टको आपत्ति

काठमाडौं : काठमाडौंको माइतीघरमा प्रदर्शनका क्रममा आफ्ना संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारप्रति नेपाल जेनजी फ्रन्टले गम्भीर आपत्ति जनाएको छ। शुक्रबार जारी विज्ञप्तिमा फ्रन्टले आफ्ना संयोजकमाथि भएको सो दुर्व्यवहारको कडा निन्दा गरेको हो। 

भदौ २३ र २४ गतेको आन्दोलनबारे छानबिन गर्न गठित पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मागसहित जेनजी अगुवाहरू ६ दिनदेखि माइतीघरमा आन्दोलनरत छन्। सोही क्रममा आन्दोलनका केही घाइते अगुवाहरूले बमविरुद्ध नाराबाजी गरेका थिए।

विज्ञप्तिमा उल्लेख भएअनुसार, नेपालको संविधानले प्रत्येक नागरिकलाई बिना हातहतियार शान्तिपूर्ण रूपमा भेला हुने तथा विचार र अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गरेको छ। संवैधानिक अधिकारको प्रयोग गरी सत्य र न्यायको आवाज उठाउने आन्दोलनकारीमाथि यस्तो आक्रमण हुनु सभ्य लोकतान्त्रिक समाजका लागि असह्य विषय हो।

आन्दोलनकारीबीचको यस्तो व्यवहारले अभियानलाई थप कमजोर बनाउने फ्रन्टको ठहर छ। विज्ञप्तिमा भनिएको छ, "यस आन्दोलनका सबै पात्रहरू घाइते, सहिद परिवार, आन्दोलनकारी र अगुवाहरू सबै एउटै यात्राका साझेदार हौं। यो यात्रामा असहमति हुन सक्छ। प्रश्न उठ्न सक्छन्। पीडाले कहिलेकाहीँ आक्रोशको रूप लिन सक्छ । तर यी प्रश्नहरूको उत्तर एक अर्कामाथि नभई राज्यसँग खोजिनुपर्छ"

राज्यले अझैसम्म सत्य लुकाएको र जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक हुने सम्भावना न्यून देखिएको फ्रन्टले जनाएको छ। यस्तो संवेदनशील अवस्थामा एक आन्दोलनकारीमाथि भएको दुर्व्यवहारले आन्दोलनलाई नै क्षति पुर्याउने फ्रन्टको निष्कर्ष छ।

चैत ६, २०८२ शुक्रबार १४:३२:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।