१० वर्षमा रुपन्देही : कृषियोग्य भूमि कसरी बन्यो देशकै प्रमुख औद्योगिक हब?
बुटवल : भैरहवा औद्योगिक करिडोरको बिहानी हिजोआज निकै व्यस्त देखिन्छ। भारी मालवाहक ट्रकहरू निरन्तर कारखानाको गेटबाट भित्र-बाहिर गरिरहेका छन्।
स्टिल, प्लास्टिक र खाद्य उद्योगका अग्ला चिम्नीबाट निस्किरहेको मधुरो धुवाँ र मेसिनको निरन्तरको आवाजले यस क्षेत्रको आर्थिक धड्कन कति तेज छ भन्ने स्पष्ट पार्छ।
केही वर्षअघिसम्म धान र गहुँ झुल्ने फराकिला खेतहरू अहिले विशाल औद्योगिक संरचना र गोदामहरूले ढाकिएका छन्। नयाँ उद्योगका चम्किला बोर्ड र मालसामानको निरन्तरको आवतजावतले रुपन्देहीको आर्थिक स्वरूप कति द्रुत गतिमा रूपान्तरण भइरहेको छ भन्ने आफैँ बोल्छ।
दुई दशकअघिसम्म परम्परागत कृषि र सीमित व्यापारमा निर्भर यो जिल्ला आज देशकै प्रमुख उद्योग, लगानी र रोजगारीको केन्द्रबिन्दु बनेको छ।
एक दशकको फड्को : साना उद्योगदेखि ठूला कर्पोरेटसम्म
एक दशकअघि मात्रै पनि रुपन्देहीको चित्र यस्तो थिएन। उद्योगहरूको उपस्थिति सीमित थियो, ती पनि अधिकांश घरेलु तथा साना स्तरका थिए।
कमजोर पूर्वाधार, सडकको दुरावस्था र विद्युत् आपूर्तिको अनिश्चितताका कारण ठूलो मात्रामा रोजगारी सिर्जना हुन सकेको थिएन। फलस्वरुप, यस क्षेत्रका हजारौं युवा रोजगारीको खोजीमा बिदेसिने वा राजधानी धाउने बाध्यतामा थिए।
तर, पछिल्ला वर्षहरूमा सडक विस्तार, बढ्दो सहरीकरण र लगानीमैत्री वातावरण निर्माण भएसँगै यहाँको आर्थिक संरचना पूरै बदलिएको छ।
घरेलु तथा साना उद्योग कार्यालय, रुपन्देहीको तथ्यांक हेर्ने हो भने २०७१ सालदेखि यता मात्रै जिल्लामा १२ हजार ४६१ भन्दा बढी उद्योग दर्ता भएका छन्। यी उद्योगले ५३ हजार ५८८ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन्।
कार्यालय प्रमुख शारदा भट्टराईका अनुसार सहज सडक सञ्जाल, बजारको विस्तार र विद्युत् आपूर्तिमा आएको सुधारले बर्सेनि उद्योग खुल्ने क्रम बढाएको हो।
‘५ लाखदेखि ५ करोड रुपैयाँसम्म लगानी भएका साना उद्योगले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न र युवाहरूमा उद्यमशीलता बढाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्’, उनी भन्छिन्।
ठूला उद्योगको हकमा पनि रुपन्देहीको वर्चस्व छ। २०८२ सालसम्मको तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा जम्मा ७५६ ठूला उद्योगमार्फत ३ खर्ब २७ अर्ब रुपैयाँभन्दा बढी लगानी भित्रिएको छ, जसले ७६ हजार ८० जनालाई रोजगारी दिएको छ।
यसमध्ये सबैभन्दा ठूलो हिस्सा (३८.६२ प्रतिशत) रुपन्देही एक्लैले ओगटेको छ। जिल्लामा ठूला उद्योगमा मात्र १ खर्ब ३ अर्ब रुपैयाँ लगानी छ।
समग्रमा बुटवल-भैरहवा, भैरहवा-लुम्बिनी, भैरहवा-परासी करिडोर, विशेष आर्थिक क्षेत्र (सेज) र बुटवल औद्योगिक क्षेत्रमा गरी ३ खर्बभन्दा बढीको लगानी भइसकेको छ। निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्र सञ्चालनमा आएपछि यो आकार अझै विशाल हुनेछ।
पूर्वाधार र सीमावर्ती फाइदा
रुपन्देही औद्योगिक केन्द्र बन्नुको पछाडि यहाँको रणनीतिक भूगोल र पूर्वाधार विकास मुख्य कारण हुन्।
रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुली भारतसँगको सहज सीमा र सुनौली नाकाले कच्चा पदार्थ आयात र उत्पादित वस्तुको निर्यातलाई निकै सहज बनाएको बताउँछन्।
‘सुनौली नाकामार्फत हुने व्यापारले कच्चा पदार्थ आयात र उत्पादन निर्यात दुवैलाई सहज बनाउँदा उद्योगहरु यहाँ खुल्ने क्रम बढेको छ’, उनी भन्छन्।
उद्योगी राजेश अग्रवाल पनि बेलहिया नाकाको सुगम पहुँच र बुटवल-भैरहवा ६ लेन सडक विस्तारले यातायात र व्यापारलाई सहज बनाउँदा लगानीकर्ता यहाँ आकर्षित भएको बताउँछन्।
तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुख बासुदेव घिमिरे सडक विस्तार र सहरी विकासका योजनाले उद्योग स्थापना मात्र नभई जनघनत्व र आवास विस्तारलाई पनि सँगसँगै डोहोर्याएको तर्क गर्छन्।
औद्योगिक विस्तारले रुपन्देहीको जनसांख्यिक र सामाजिक संरचनामै परिवर्तन ल्याइदिएको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार बसाइँसराइ गरेर आउने जनसंख्याका हिसाबले रुपन्देही देशकै प्रमुख आकर्षण बनेको छ।
शिक्षा, स्वास्थ्य र रोजगारीको खोजीमा पहाडी जिल्लाहरूबाट यहाँ ७० हजारभन्दा बढी मानिस स्थायी रूपमा बसाइँ सरेर आएका छन्। यहाँबाट जानेभन्दा आउनेको संख्या करिब ५२ हजारले बढी छ।
निर्यातमा उत्साहजनक वृद्धि : तथ्यांकले के भन्छ ?
औद्योगिक वातावरण बनेसँगै रुपन्देहीबाट हुने निर्यात व्यापारले छलाङ मारेको छ।
भैरहवा भन्सार कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि मंसिर मसान्तसम्म (पाँच महिनामा) १२ अर्ब ३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको (५ अर्ब ७० करोड) तुलनामा १११.०८ प्रतिशतले बढी हो।
निर्यातमा प्रशोधित वस्तुको वर्चस्व छ। सबैभन्दा बढी ५ अर्ब ४१ करोड ४३ लाख रुपैयाँ बराबरको भटमासको प्रशोधित तेल निर्यात भएको छ। भन्सार प्रमुख हरिहर पौडेलका अनुसार कच्चा पदार्थ विदेशबाट आयात गरी यहाँ प्रशोधन र प्याकिङ गरेर निर्यात गरिने हुँदा यसको हिस्सा उच्च देखिएको हो।
त्यसैगरी निर्यातको दोस्रो स्थानमा सेन्थेटिक यार्न (धागो) छ, जसको १ अर्ब ४० करोड ७१ लाख बराबरको व्यापार भएको छ।
यसबाहेक आल्मुनियम तार (७७ करोड २९ लाख), खैरो सिमेन्ट (५८ करोड ५६ लाख), चाउचाउ तथा पास्ता (४४ करोड ६३ लाख), खयर कत्था (४२ करोड २३ लाख), फलाम वा स्टिलका भाँडाकुँडा (२९ करोड ५२ लाख), प्लाइउड (२८ करोड ११ लाख), अल्किड तथा पिभिसी रेजिन (२८ करोड ४० लाख) र सिमेन्ट क्लिंकर (२६ करोड ८४ लाख) निर्यात भएको छ।
पाँच महिनामा निर्याततर्फबाट मात्रै ५८ करोड २० लाख राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ। समग्रमा चालु आवको मंसिर मसान्तसम्म भैरहवा भन्सारले कुल ४३ अर्ब ६७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.५ प्रतिशतले बढी हो।
रुपन्देहीले औद्योगीकरणमा स्वर्णिम युगको सुरुवात गरे पनि यो यात्रा चुनौतीरहित भने छैन। उद्योगी राजेश अग्रवाल पछिल्लो समय देखिएको आर्थिक मन्दी, बैंकको अस्थिर ब्याजदर र बजारको संकुचनले उद्योगहरूको पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको बताउँछन्।
यद्यपि, सरकारले उद्योगमैत्री नीति, कर्जामा सहजता र स्थिर बजारको सुनिश्चितता गर्ने हो भने रुपन्देहीले नेपालको समग्र अर्थतन्त्रकै कायापलट गर्न सक्ने सम्भावना र सामर्थ्य दुवै बोकेको छ।
चैत ६, २०८२ शुक्रबार १०:५१:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।