१२ गते शपथमा लागि उपस्थित हुन नवनिर्वाचित सांसदहरूलाई सूचना, तीन थरी डकुमेन्ट बोकेर आउन आग्रह
काठमाडौं : सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ बाट निर्वाचित सदस्यहरू (सांसद) को शपथ ग्रहण कार्यक्रमको मिति र समय तय गरेको छ।
सचिवालयद्वारा जारी सूचना अनुसार नवनिर्वाचित सांसदहरूको शपथ आगामी चैत १२ गते बिहीबार दिउँसो २ बजे हुनेछ।
शपथ ग्रहण कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा आयोजना हुने तय भएको छ।
सङ्घीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचनामा सम्पूर्ण निर्वाचित सदस्यहरूलाई निर्धारित समयभन्दा दुई घण्टा अगावै कार्यक्रम स्थलमा उपस्थित हुन अनुरोध गरिएको छ।
उपस्थित हुँदा सांसदहरूले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्रको सक्कल तथा प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रति अनिवार्य रूपमा ल्याउनुपर्नेछ।
साथै, सांसदहरूलाई औपचारिक वा आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थित हुन आग्रह गरिएको छ।
सचिवालयले नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सांसदहरूका लागि पनि व्यवस्था गरेको छ। त्यसरी आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची-३ को ढाँचाको शपथको व्यहोरालाई सम्बन्धित भाषामा अनुवाद गर्नुपर्नेछ।
उक्त अनुवादित प्रति शपथ कार्यक्रम हुनुभन्दा तीन दिन अगावै सङ्घीय संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा बुझाउनुपर्नेछ। साथै, सो शाखाको इमेल ठेगाना [email protected] मा समेत पठाएर उपलब्ध गराउन सकिने सचिवालयले जनाएको छ।
यसैगरी, संसद् सचिवालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई यसै सूचनालाई आधार मानेर आ-आफ्नो जिल्लाका निर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई शपथ ग्रहणको व्यहोरा बारे जानकारी गराइदिने व्यवस्था मिलाउन समेत अनुरोध गरेको छ।
चैत ६, २०८२ शुक्रबार ०७:१६:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।