२८ हजार डलरसहित विमानस्थलबाट तीन नेपाली पक्राउ
काठमाडौं : नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८ हजार ९०० सहित तीन जना नेपाली नागरिकलाई बिहीबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं नागार्जुन नगरपालिका-१ की ४५ वर्षीया अनिता लामा, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-६ की ३८ वर्षीया सङ्गीता लामा तथा सिन्धुपाल्चोक लिशङ्खुपाखर गाउँपालिका-७ का ४७ वर्षीय विनोद लामा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।
उनले भने, “आज चाइना साउथेनको उडान नम्बर सिजेड ६०६८ द्वारा काठमाडौंबाट चीनको ग्वाङझाउ जान लागेका निज यात्रुलाई विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा शरीर खानतलासी एवं ब्यागेज स्क्रिनिङ गर्ने क्रममा निजहरूले अमेरिकी डलरहरू बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला परी पक्राउ गरिएको हो।”
अनिताका साथबाट अमेरिकी डलर १०० दरको १०० थान गरी १० हजार, सङ्गीता लामाको साथबाट अमेरिकी डलर एक सय दरको १०० थान गरी १० हजार तथा विनोद लामाका साथबाट अमेरिकी डलर एक सय दरको ८९ थान आठ हजार ९०० गरी कुल अमेरिकी डलर २८ हजार ९०० बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहर भवन पुल्चोक, ललितपुर बुझाइएको प्रवक्ता सिलवालले बताए।
चैत ५, २०८२ बिहीबार २०:५७:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।