शुक्रबारदेखि तीव्र हावाहुरी र वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिन देशका विभिन्न क्षेत्रमा खराब मौसम रहने भन्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
प्राधिकरणले आइतबार सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार चैत ६ गते शुक्रबारदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ।
त्यसैगरी, दाङ, नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई आसपासका जिल्लामा तथा शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा प्रतिघण्टा ११० किलोमिटरसम्मको तीव्र हावाहुरी चल्ने सम्भावना रहेको उल्लेख गरिएको छ।
प्राधिकरणका अनुसार हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना भत्किने, छाना उड्ने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको छ। पछिल्ला दिनहरूमा हावाहुरीका कारण मानवीय क्षति समेत भएको भन्दै विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
प्राधिकरणले नागरिकलाई अनावश्यक यात्रा नगर्न, हावाहुरीका बेला घरभित्रै सुरक्षित बस्न, झ्यालढोका राम्ररी बन्द गर्न तथा आगोका स्रोतहरू नियन्त्रणमा राख्न सुझाव दिएको छ। साथै, सवारीसाधन चलाइरहेको अवस्थामा सुरक्षित स्थानमा रोकिन र भीडभाड नगरी सुरक्षित ठाउँमा जान आग्रह गरिएको छ।
हावाहुरीका समयमा कमजोर संरचना, अग्ला रुख, टेलिफोन तथा बिजुलीका खम्बा र तारमुनि नबस्न तथा विद्युत् उपकरण प्रयोग नगर्न पनि अनुरोध गरिएको छ।
चैत ५, २०८२ बिहीबार १७:०८:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।