बक्स अफिसमा ‘धुरन्धर’ सुनामी : पहिलो दिनमै ७५ करोडको व्यापार, बलिउडका सबै रेकर्ड ब्रेक!
एजेन्सी : बहुप्रतिक्षित बलिउड फिल्म ‘धुरन्धर : द रिभेन्ज’ले प्रदर्शनको पहिलो दिनमै बक्स अफिसमा सुनामी ल्याएको छ। रणवीर सिंह अभिनित तथा आदित्य धर निर्देशित यस फिल्मले ओपनिङ डेमै इतिहास रच्दै बलिउडका ठूला रेकर्डहरू तोडेको छ।
ट्रेड एनालिस्ट सेकनिल्कका अनुसार, बुधबार गरिएको पेड प्रिभ्यूबाटै फिल्मले विश्वभर ७५ करोड भारतीय रुपैयाँ संकलन गरिसकेको छ। यो कुनै पनि भारतीय फिल्मले प्रिभ्यू डेमा गरेको हालसम्मकै उच्च व्यापार हो।
यसअघि शाहरुख खानको ‘जवान’ ले पहिलो दिन ७५ करोडको ओपनिङ गरेको थियो। ‘धुरन्धर २’ को पहिलो दिनको कुल कलेक्सनले ‘जवान’ को रेकर्डलाई सहजै उछिन्न सक्ने अनुमान छ।
भारतमा मात्रै यो फिल्मले प्रिभ्यू र बिहीबार दिउँसो साढे १२:३० बजेसम्मको व्यापार जोड्दा ६० करोड रुपैयाँभन्दा बढी (नेट) कलेक्सन गरिसकेको छ। बिहीबार दिउँसोसम्म भारतभर ८ हजार ९०० भन्दा बढी शो सञ्चालनमा रहेको फिल्मबाट मात्रै १७ करोड रुपैयाँ संकलन भइसकेको छ।
हिन्दी भर्सनमा फिल्मले १६.१२ करोड कमाउँदा तेलुगुमा ६० लाख र तमिलमा ३३ लाख रुपैयाँ संकलन भएको छ। कन्नड र मलायालम भर्सनको व्यापार भने तुलनात्मक रूपमा न्यून देखिएको छ।
करिब ४ घण्टा लामो यस फिल्मलाई लिएर दर्शक र समीक्षकको मिश्रित तर रोचक प्रतिक्रिया आएको छ। फिल्मको पहिलो भागदेखि नै समर्थन गरिरहेका निर्देशक राम गोपाल वर्माले यसलाई शोले १ सय पटक हेरेको जत्तिकै मजा आउने भन्दै प्रशंसा गरेका छन्।
अल्लु अर्जुन, शिल्पा शेट्टी, प्रीति जिन्टा र मधुर भण्डारकर जस्ता कलाकारहरूले फिल्मको भव्यताको तारिफ गरेका छन्।
चर्चित समीक्षक शुभ्रा गुप्ताले भने फिल्मलाई २ स्टार दिँदै यसमा अघिल्लो भागको जस्तो मज्जा नभएको टिप्पणी गरेकी छिन्। धेरै रगत र हतियार देखाइए पनि फिल्मको आत्मा कमजोर रहेको उनको तर्क छ।
चैत ५, २०८२ बिहीबार १३:२२:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।