कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार, श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान दूतावासको आग्रह
काठमाडौँ : कम्बोडिया पुगेर अलपत्र परेका २० जना नेपाली नागरिकको उद्धार गरिएको छ।
विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेका उनीहरुलाई थाइल्याण्डस्थित नेपाली राजदूतावास, कम्बोडिया सरकार र गैर-आवासीय नेपाली संघ कम्बोडियाको संयुक्त पहलमा उनीहरूको उद्धार गरिएको हो।
उद्धार गरिएका नेपालीहरू चैत ४ गते कम्बोडियाबाट उडेर चैत ५ गते काठमाडौँ अवतरण गर्ने तालिका रहेको राजदूतावासले जनाएको छ।
अलपत्र परेका अन्य व्यक्तिहरु पनि रहेको सूचना प्राप्त भएको र उनीहरुलाई पनि फर्काउन पहल भइरहेको दूतावासले जानकारी दिएको छ ।
दूतावासका अनुसार विभिन्न माध्यमबाट कम्बोडिया पुगेका नेपालीहरूलाई त्यहाँका अनलाइन स्क्यामिङ केन्द्र र क्यासिनोहरूमा अवैध रूपमा काम लगाउने गरिएको छ। धेरैजसो नेपालीहरू विना भिसा वा भिसा अवधि सकिएपछि पनि बसिरहेको र उनीहरूको राहदानी समेत रोजगारदाता कम्पनीले जफत गर्ने गरेको पाइएको छ।
राहदानी जफत भएका वा हराएका नेपालीहरूलाई स्वदेश फर्कनका लागि राजदूतावासले निःशुल्क 'एकतर्फी यात्रा अनुमति पत्र' जारी गर्ने व्यवस्था समेत मिलाएको छ।
कम्बोडियाको पर्यटनसम्बन्धि तथ्याङ्क अनुसार सन् २०२१ मा जम्मा एक सय एक जना नेपाली भ्रमण भिसामा कम्बोडिया गएकोमा कम्बोडिया सन् २०२४ मा यो संख्या बढेर छ हजार ४०४ पुगेको छ। सन् २०२५ मा मात्रै नाै हजार ६७६ जना नेपाली कम्बोडिया पुगेको तथ्याङ्क छ।
कम्बोडियामा समस्यामा परेकाहरूलाई राजदूतावासका प्रतिनिधिहरू वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न आग्रह गरिएको छ।
दूतावासले थाइल्याण्ड, कम्बोडिया, लाओस र म्यानमार जस्ता मुलुकहरूमा भ्रमण भिसामा गएर वैदेशिक रोजगारीमा नआउन सबैमा अनुरोध गरेको छ। सरकारले तोकेको मापदण्ड पूरा गरी श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान र 'छिटो र धेरै पैसा कमाउने' प्रलोभनमा नपर्न विज्ञप्ति मार्फत सचेत गराइएको छ।

चैत ५, २०८२ बिहीबार ११:०३:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।