मेयर धनराजलाई सांसद महाबीरले भने- आज नदिपुरमा किताब बेच्दैछु, गाह्रो पिरो नमान्नु होला मेयर साब!
पोखरा : नवनिर्वाचित सांसद महावीर पुन र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यबीचको ‘पुस्तक विवाद’ले नयाँ मोड लिएको छ।
मेयर आचार्यले सांसदको भूमिका नीति निर्माण गर्ने भएको भन्दै सडकमा पुस्तक नबेच्न दिएको सुझावलाई पुनले सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक शैलीमा जवाफ फर्काएका छन्।
मेयर आचार्यको आग्रहलाई बेवास्ता गर्दै पुनले बिहीबार बिहानैदेखि पोखराको नदिपुरमा आफ्नो आत्मकथा बेच्ने घोषणा गरेका छन्।
उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन। त्यसैले आज बिहान १० बजे देखि नदिपुरको बालमन्दिर देखि ५० मिटर पश्चिम तिर रहेको सिंगापुरा क्याफेको छेउमा मेरो आत्मकथाको किताब बेच्ने छु।’
आफू फुर्सदमा नभएको र निर्वाचन क्षेत्रको काम सकेर बसेको स्पष्ट पार्दै उनले मेयर आचार्यलाई प्रश्न गरेका छन्, ‘चुनाव सकिए पछि म्याग्दीको ६ वटा पालिकामा गएर जनप्रतिनिधि र गाउँलेहरु संग विकास र बजेट सम्बन्धि पहिलो चरणको छलफल सकियो। अनि के गरेर बस्ने त नि मेयर साहब? गाह्रो पिरो नमार्नु होला।’
पुनले आफ्नो स्टाटसमा हाँसिरहेका इमोजीहरू प्रयोग गर्दै मेयरको सुझावलाई ठट्टाको रूपमा लिएको संकेत गरेका छन्।
भएको के थियो?
यसअघि पुनले पोखराको फुटपाथमा उभिएर पुस्तक बिक्री गरेपछि मेयर धनराज आचार्यले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका थिए।
मेयर आचार्यले माननीय भइसकेको व्यक्तिले सडकमा पुस्तक बेच्नु शोभनीय नभएको र सांसदको मुख्य काम नीति तथा कानुन निर्माण गर्नु रहेको स्मरण गराएका थिए।
मेयर आचार्यले पुनलाई फुटपाथमा नबस्न आग्रह गर्दै पुस्तक व्यवसायी महासंघमार्फत पुस्तक बिक्री गर्न र पारदर्शिताका लागि करको विवरण सार्वजनिक गर्न समेत सुझाव दिएका थिए।
उनले पुस्तकको स्टक उपलब्ध गराए महानगरले नै बिक्री वितरणमा सहजीकरण गरिदिने प्रस्ताव समेत राखेका थिए।
तर, महावीर पुनले भने आफू जनतासँग प्रत्यक्ष जोडिन र आफ्नो अभियानका लागि कोष जुटाउन सडकमै पुगेर पुस्तक बेच्ने अडान राख्दै आएका छन्। सांसद र मेयरबीचको यो जुहारीले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ।
चैत ५, २०८२ बिहीबार ०९:००:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।