अमेरिकी जेनजी पुस्तामाझ अलोकप्रिय बन्दै ट्रम्प

अमेरिकी जेनजी पुस्तामाझ अलोकप्रिय बन्दै ट्रम्प

एजेन्सी : हालैको सर्वेक्षणले जेनजी पुस्तामाझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता घट्दै गएको देखाएको छ। सन् २०२४ को चुनावमा ट्रम्पलाई ह्वाइट हाउस फर्काउन १८ देखि २९ वर्षका मतदाताहरूको महत्वपूर्ण भूमिका रहेको मानिन्छ।

'द इकोनोमिस्ट' र 'युगभ' यसै महिना गरेका दुईवटा सर्वेक्षणले जेनजी पुस्तामा ट्रम्पको लोकप्रियतामा तीव्र रूपमा घटिरहेको देखिएको हो।

मार्च ६-९ को सर्वेक्षणमा कुल मतदातामध्ये ४० प्रतिशतले ट्रम्पको कामको समर्थन गरेका थिए भने ५५ प्रतिशतले असन्तुष्टि जनाए। तर, १८-२९ वर्षका युवाहरूमाझ मात्र ३२ प्रतिशत मात्रले ट्रम्पको समर्थन गरेका थिए। ६० प्रतिशतले असन्तुष्टि जनाएका थिए।

मार्च १३-१६ मा भएको अर्को सर्वेक्षणमा जेनजी पुस्ताको समर्थन थप घटेको देखायो। एक हप्ताभित्रै युवाहरूको समर्थन घटेर २५ प्रतिशतमा खुम्चिएको देखियो।

ट्रम्पको कामप्रति असन्तुष्टि जनाउने जेनजी पुस्ताको प्रतिशत ६४ प्रतिशत पुग्यो। यसले एक हप्तामा जेनजी पुस्तामाझ ट्रम्पको लोकप्रियता ११ अंकले घटेर माइनस ३९ पुगेको देखायो।

यसबारे ह्वाइट हाउसका प्रवक्ता डेभिस इङ्गलले ट्रम्पबारे सबैभन्दा ठूलो सर्वेक्षण २०२४ नोभेम्बर ५ मा भइसकेको र त्यसमा झन्डै ८ करोड अमेरिकीहरूले राष्ट्रपति ट्रम्पलाई भारी मतले निर्वाचित गरेको बताए। उनले ट्रम्प अहिले पनि अमेरिकी राजनीतिको सबैभन्दा प्रभावशाली व्यक्तित्व रहेको दाबी समेत गरे।

चैत ४, २०८२ बुधबार २०:३९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।