इरानको प्रमुख ग्यास प्लान्टमा अमेरिका र इजरायलको आक्रमण, कतारले भन्यो- गैरजिम्मेवार

इरानको प्रमुख ग्यास प्लान्टमा अमेरिका र इजरायलको आक्रमण, कतारले भन्यो- गैरजिम्मेवार

एजेन्सी : खाडी क्षेत्रमा रहेको इरानको एक महत्वपूर्ण ग्यास प्लान्टमा बुधबार अमेरिका र इजरायलले संयुक्त रूपमा क्षेप्यास्त्र प्रहार गरेका छन्।

इरानको दक्षिणी बुशेहर प्रान्तका नायब गभर्नर एहसान जहानियानलाई उद्धृत गर्दै इरानी सरकारी टेलिभिजनले ‘अमेरिकी र इजरायली शत्रु’ले असालुयेहस्थित 'साउथ पार्स स्पेशल इकोनोमिक इनर्जी जोन' मा आक्रमण गरेको पुष्टि गरेको छ।

आक्रमणपछि उक्त ग्यास केन्द्रको केही भागमा ठूलो आगलागी भएको छ। आगलागी नियन्त्रण गर्न र थप क्षति हुन नदिन घटनास्थलमा ठूलो संख्यामा दमकल र उद्धार टोली परिचालन गरिएको छ।

यसैबीच, कतारले इरानको ग्यास पूर्वाधारमा भएको यस आक्रमणलाई ‘खतरनाक र गैरजिम्मेवार’ कदम भन्दै कडा आलोचना गरेको छ। कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले इजरायललाई यस आक्रमणको दोषी ठहर गर्दै यसले क्षेत्रमा जारी सैन्य तनावलाई थप चर्काउने बताएका छन्।

विशेष कुरा के छ भने, जुन ग्यास क्षेत्र (साउथ पार्स क्षेत्र) मा आक्रमण भएको छ, त्यो समुद्री ग्यास क्षेत्र इरान र कतारले साझा रूपमा प्रयोग गर्दै आएका छन्।

परराष्ट्र प्रवक्ता अल अन्सारीले सामाजिक सञ्जाल एक्समार्फत भनेका छन्, ‘ऊर्जा पूर्वाधारहरूलाई निशाना बनाउनु विश्वव्यापी ऊर्जा सुरक्षाका लागि ठूलो खतरा हो। यसले यस क्षेत्रका जनता र वातावरणमा समेत गम्भीर असर पुर्याउँछ।’

कतारले पटक-पटक महत्वपूर्ण र अत्यावश्यक सुविधाहरूलाई सैन्य निशाना नबनाउन आग्रह गर्दै आएको स्मरण गराउँदै सबै पक्षलाई संयमता अपनाउन र अन्तर्राष्ट्रिय कानुनको पालना गर्न आह्वान गरेको छ।

मध्यपूर्वमा बढ्दै गएको युद्धको जोखिमका बीच ऊर्जा केन्द्रमा भएको यो आक्रमणलाई विश्व राजनीतिमा निकै चासोका साथ हेरिएको छ।

चैत ४, २०८२ बुधबार १९:४८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।