रास्वपाका नवनिर्वाचित सांसदहरूलाई सभापति रवि लामिछानेले के भने? आठ बुँदामा पढ्नुहोस्

रास्वपाका नवनिर्वाचित सांसदहरूलाई सभापति रवि लामिछानेले के भने? आठ बुँदामा पढ्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिले नवनिर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै मुलुकको समृद्धिका लागि आठ वटा मुख्य विषयहरूमा केन्द्रित हुन विशेष निर्देशन दिएका छन्।

बुधबार आयोजित सांसदहरूको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले पार्टीको साख र जनताको भरोसा जोगाउन अनुशासन र नैतिकतालाई मुख्य आधार बनाउनुपर्नेमा जोड दिए।

उनले अहिले जनताले दिएको जनमत सामान्य अवस्थाको नभई शहीदहरूको रगत र जनताको तीव्र परिवर्तनको चाहनाबाट आएको बताए।

जनताको अभूतपूर्व विश्वास र ऐतिहासिक जिम्मेवारी
सभापति लामिछानेले नेपाली जनताले इतिहासमै कसैलाई नगरेको विश्वास रास्वपामाथि गरेको उल्लेख गरे। उनले यो चुनाव नियमित प्रक्रिया मात्र नभएर शहीदहरूको बलिदानको प्रतिफल भएकोले यसलाई हलुका रूपमा नलिन सचेत गराए।

सांसदको प्राथमिक भूमिका र 
लामिछानेले कानुन निर्माण र अध्ययन सांसदहरूको मुख्य काम भएको भन्दै उनीहरूले कानुन निर्माणमा गम्भीर अध्ययन र अनुसन्धान गर्नुपर्नेमा जोड दिए। नेताहरू ‘सेलिब्रेटी’ बन्ने होडमा नलागी जनताको काममा असिनपसिन भएर लाग्नुपर्ने र शक्ति प्राप्त गरेपछि जनताबाट टाढा हुन नहुने उनले बताए।

अनुशासन र ‘राइट टु रिकल’को कार्यान्वयन
पार्टीले अनुशासनलाई पहिलो प्राथमिकतामा राखेको छ। सभापतिले पार्टीको विधानमा रहेको ‘राइट टु रिकल’को व्यवस्थालाई यसपटक कडाइका साथ लागू गर्ने जानकारी गराए। कुनै पनि बिचौलियासँग साठगाँठ नगर्न र हल्का टिप्पणीहरू नदिन उनले सांसदहरूलाई कडा निर्देशन दिए।

‘अब तपाईंहरू अभियन्ता होइन, सांसद हुनुभएको छ। हल्काफुल्का टिप्पणी नदिनुस् र सञ्चारकर्मीले बोलाउने बित्तिकै जे पायो त्यही नबोल्नुस्,’ उनले चेतावनी दिँदै भने, ‘अझै पनि पहिलाकै जस्तो गैरजिम्मेवार व्यवहार गर्नुहुन्छ भने तपाईंहरू पार्टी छाड्न तयार हुनुस्।’

सामाजिक न्याय र सन्तुलित विकासको अवधारणा
विकासको परिभाषा केवल भौतिक पूर्वाधारमा मात्र सीमित नभई ‘सामाजिक न्याय’ हुनुपर्ने उनको भनाइ थियो। आफ्नो क्षेत्रमा मात्र बजेट सोहोर्ने पुराना प्रवृत्ति त्यागेर कर्णाली, मधेश र सुदूरपश्चिम जस्ता पिछडिएका क्षेत्रको विकासलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।

पारदर्शिता, आचरण र सरकारी सेवाको सम्मान
लामिछानेले विकासको मुख्य सूचक भौतिक पूर्वाधार मात्र नभई सामाजिक न्याय हुनुपर्ने बताए। उनले सांसदहरूलाई विलासी जीवनशैलीभन्दा जनताको आधारभूत आवश्यकतामा केन्द्रित हुन आग्रह गरे।

‘सक्नुहुन्छ भने सरकारी अस्पतालमै उपचार गराउनुस्। जनताका छोराछोरीले जुन सास्ती भोग्छन्, त्यो तपाईंहरूले पनि महसुस गर्नुपर्छ’, उनले भने। उनले आफ्ना सांसदहरूलाई ठूला होटल र सेमिनारमा भन्दा गाउँ, टोल र चिया चौतारामा जनताका समस्या सुन्न खटिन निर्देशन दिए।

विजयी भएको उन्मादमा विपक्षीहरूलाई गालीगलौज वा कटाक्ष नगर्न र जिम्मेवार आचरण प्रदर्शन गर्न उनले समर्थक र सांसदहरूलाई निर्देशन दिए।

संविधान र लोकतान्त्रिक व्यवस्थाप्रतिको प्रतिबद्धता
वर्तमान शासकीय स्वरूपमा सुधारको आवश्यकता महसुस गरिए तापनि पार्टी वर्तमान लोकतान्त्रिक व्यवस्था र संविधानप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले स्पष्ट पारे। इतिहासका नेताहरूको योगदानलाई सम्मान गर्दै भविष्य निर्माणमा केन्द्रित हुन उनले आह्वान गरे।

आर्थिक समृद्धि र लगानीको वातावरण
निजी क्षेत्रलाई निर्धक्कसँग काम गर्ने वातावरण बनाउने र वैदेशिक लगानी भित्र्याउन थिति बसाल्ने सभापति लामिछानेको प्रतिबद्धता छ। अन्तर्राष्ट्रिय समुदाय र प्रवासी नेपालीहरूलाई नेपाल लगानीका लागि सुरक्षित रहेको सन्देश दिँदै नीतिगत रूपमै संरक्षण गरिने उनले प्रतिबद्धता जनाए।

इतिहासको सम्मान र भविष्यको निर्माण
लामिछानेले पुराना राजनीतिक दल र नेताहरूको योगदानलाई सम्मान गर्ने तर उनीहरूको कमजोरीबाट सिकेर अघि बढ्ने बताए। ‘इतिहास उहाँहरूले लेख्नुभयो, अब भविष्य हामी बनाउँछौँ’,उनले भने।

सम्बोधनमा लामिछानेले सांसदहरूलाई अध्ययनशील बन्न, संसदीय मर्यादा बुझ्न र सधैँ जनताको माझमा रहन पटक-पटक आग्रह गरेका थिए। उनले रास्वपाभित्र प्रत्यक्ष र समानुपातिक सांसदबीच कुनै विभेद नहुने र सबैले समान जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिए।

चैत ४, २०८२ बुधबार १४:३५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।