जनकपुरधामको फुटपाथ खाली गराउन गृहमन्त्री सडकमा, अटेर गरे सामान जफत गर्ने चेतावनी

जनकपुरधामको फुटपाथ खाली गराउन गृहमन्त्री सडकमा, अटेर गरे सामान जफत गर्ने चेतावनी

जनकपुरधाम : जनकपुरधामलाई सफा र व्यवस्थित बनाउन मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो आफैं सडकमा उत्रिएका छन्।

जनकपुरधामलाई स्वच्छ र व्यवस्थित पर्यटकीय नगरीका रूपमा विकास गर्ने लक्ष्यका साथ गृहमन्त्री महतो आफैँ सडकमा ओर्लिएका हुन्। 

बुधबार बिहानदेखि उनले जनकपुरका मुख्य सडक र मठ–मन्दिर वरिपरिका फुटपाथ खाली गराउन नेतृत्व गरेका छन्।

जनकपुरधाम उपमहानगरपालिका, उद्योग वाणिज्य संघ, र जिल्ला प्रहरी कार्यालय धनुषाको सहकार्यमा यो अभियान सुरु गरिएको हो।

अभियानको पहिलो दिन मन्त्री महतोले फुटपाथमा व्यापार गर्ने व्यवसायीहरूलाई सडक खाली गर्न आग्रह गरेका छन्। अटेर गरी भोलिदेखि सडकमै व्यापार गरे सामान जफत गरेर उपमहानगरपालिकामा राखिने उनले चेतावनी समेत दिएका छन्।

फुटपाथ व्यवसायीहरूलाई विकल्पस्वरूप अहिलेका लागि बाह्रविघा मैदानमा व्यापार गर्ने व्यवस्था मिलाइएको छ। उद्योग वाणिज्य संघका अनुसार अर्को व्यवस्था नभएसम्म त्यहीँबाटठेला, स्टल सञ्चालन गर्न सकिनेछ।

मन्त्री महतोले जनकपुरलाई राम्रो बनाउन सबैको साथ आवश्यक पर्ने भन्दै स्थानीय, व्यवसायी र नागरिक समाजलाई सहयोग गर्न अपिल गरेका छन्।

चैत ४, २०८२ बुधबार १३:०३:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।