केन्याबाट २ हजारभन्दा बढी ‘रानी कमिला’ तस्करी गर्न खोज्ने चिनियाँ नागरिक पक्राउ

केन्याबाट २ हजारभन्दा बढी ‘रानी कमिला’ तस्करी गर्न खोज्ने चिनियाँ नागरिक पक्राउ

एजेन्सी : केन्याको राजधानी नैरोबीमा दुई हजारभन्दा बढी जीवित ‘रानी कमिला’ तस्करी गर्न खोज्ने एक चिनियाँ नागरिक र उनका केन्याली सहयोगीमाथि वन्यजन्तु अवैध ओसारपसारको मुद्दा चलाइएको छ।

गत हप्ता नैरोबीको अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन जान लागेका झाङ केकुन नामका चिनियाँ नागरिकलाई अधिकारीहरूले पक्राउ गरेका थिए। उनको सुटकेस खानतलासी गर्दा टेस्ट ट्युब र टिस्यु पेपरमा लुकाएर राखिएका २ हजारभन्दा बढी जीवित कमिला फेला परेका थिए।

मंगलबार नैरोबीको एक अदालतमा भएको सुनुवाइका क्रममा झाङले ती कमिला केन्याली नागरिक चार्ल्स म्वाङ्गीबाट खरिद गरेको खुलेको छ। उनले प्रति १०० वटा कमिलाको १० हजार केन्याली सिलिङ (करिब ११ हजार ४ सय नेपाली रुपैयाँ) तिरेका थिए।

अधिकारीहरूका अनुसार युरोप र एसियामा यस्ता बगैँचामा पाइने कमिलालाई पाल्तु जनावरका रूपमा सङ्कलन गर्ने सोख बढ्दै गएकाले यसको माग र तस्करी बढेको हो। झाङले ती कमिला चीन लैजान खोजेका थिए।

पक्राउ परेका दुवै जनाले आफूहरू निर्दोष रहेको दाबी गरेका छन्। झाङका वकिल डेभिड लुस्वेतीले उनीहरूलाई यो कार्य कानुन विपरीत हो भन्ने थाहा नभएको तर्क गरेका छन्।

उनले भने, ‘उनीहरूले विदेशमा कमिला बेचेर जीविकोपार्जन गर्न सकिन्छ भन्ने मात्र सोचेका थिए, यो गैरकानुनी हो भन्ने उनीहरूलाई थाहा थिएन।’

अदालतले उनीहरूलाई हिरासतमा राख्न आदेश दिएको छ र अर्को सुनुवाइ मार्च २७ मा हुनेछ। केन्याली वन्यजन्तु सेवाले यस घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको जनाएको छ।

यसअघि गत वर्षको मे महिनामा पनि केन्यामा हजारौं रानी कमिला तस्करी गर्न खोज्ने चार जनालाई अदालतले एक वर्षको जेल सजाय र ७७ सय अमेरिकी डलर जरिवाना सुनाएको थियो।

चैत ४, २०८२ बुधबार १२:३८:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।