आज घोडेजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं : प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन मनाइने परम्परागत घोडेजात्रा पर्व आज काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
यस अवसरमा आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले विशेष समारोह आयोजना गर्नेछ। समारोहमा सेनाका तर्फबाट अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम र विविध युद्धकलाको प्रदर्शनी गरिने कार्यक्रम रहेको छ।
सांस्कृतिक मान्यता अनुसार, टुँडिखेलको पूर्व–दक्षिण दिशामा बास गर्ने 'गुरुमापा' नामक राक्षसले सहरका बालबालिकालाई दुःख दिने गरेपछि, उसलाई घोडाको टापले कुल्चाएर तर्साउने परम्पराका रूपमा यो जात्रा मनाउन थालिएको जनविश्वास छ।
घोडाको टापले कुल्चाउँदा उक्त राक्षसको शक्ति क्षीण हुने र सहर सुरक्षित रहने विश्वासका साथ यो जात्राले निरन्तरता पाउँदै आएको हो।
काठमाडौंको टुँडिखेलसँगै ललितपुरको पाटनमा पनि आज एउटा घोडा दौडाएर घोडेजात्रा मनाउने छुट्टै मौलिक परम्परा रहेको छ।
घोडेजात्रा पर्वको अवसरमा सरकारले आज काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा सार्वजनिक बिदा दिएको छ।
चैत ४, २०८२ बुधबार ०८:००:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।