बैंकिङ कसुरको आरोपमा प्रभु बैंकका ‘कर्पोरेट एन्ड प्रोजेक्ट फाइनान्स’ प्रमुख डंगोल पक्राउ

बैंकिङ कसुरको आरोपमा प्रभु बैंकका ‘कर्पोरेट एन्ड प्रोजेक्ट फाइनान्स’ प्रमुख डंगोल पक्राउ

काठमाडौं : प्रभु बैंकका ‘कर्पोरेट एन्ड प्रोजेक्ट फाइनान्स’ विभाग प्रमुख दिनेश डंगोल बैंकिङ कसुर आरोपमा पक्राउ परेका छन्। नेपाल राष्ट्र बैंकको निर्देशन र प्रचलित कानुन विपरीत कर्जा दुरुपयोग गरेको अभियोगमा उनलाई चैत २ गते काठमाडौंको थापाथलीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) एवं सूचना अधिकारी शिवकुमार श्रेष्ठका अनुसार, प्रभु बैंकबाट ‘प्रभु म्यानेजमेन्ट प्रालि’मा प्रवाह भएको कर्जा दुरुपयोग प्रकरणमा डंगोलको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको हो। 

यसअघि बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनमाथि बैंकिङ कसुरको आरोपमा पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो। अनुसन्धानको क्रममा संकलित तथ्य, प्रमाण र विज्ञ टोलीको विश्लेषणबाट ५० वर्षीय डंगोलले कर्जा दुरुपयोग गर्ने/गराउने कार्यमा भूमिका खेलेको देखिएको प्रहरीले जनाएको छ।

ललितपुर महानगरपालिका २७ निवासी डंगोललाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान गर्न उच्च अदालत पाटनबाट अनुमति लिइएको थियो। पक्राउ परेका डंगोल उपर हाल उच्च अदालत पाटनबाटै म्याद थप भई प्रहरी ब्युरोबाट थप अनुसन्धान भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

सिआइबीको अनुसन्धानमा प्रभु बैंकबाट प्रभु मेनेजमेन्टमा गएको २७ करोडको कर्जा दुरुपयोग भएको देखिएको थियो। त्यसमा प्रभु बैंकका उच्चतहका पदाधिकारी जोडिएको देखिएपछि निरन्तर अनुसन्धान हुँदै आएको छ।

चैत ३, २०८२ मंगलबार २०:५३:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।