सुरु भयो माननीय आशिकाको चटक, स्थानीय तहको क्षेत्राधिकारमा हस्तक्षेप गर्दै कर नउठाउन धम्की

सुरु भयो माननीय आशिकाको चटक, स्थानीय तहको क्षेत्राधिकारमा हस्तक्षेप गर्दै कर नउठाउन धम्की

काठमाडौँ : कहिले पसल त कहिले पार्किङ अनुगमन गर्दै भाइरल हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद बनेकी आशिका तामाङले स्थानीय सरकारको क्षेत्राधिकार भित्र प्रवेश गर्दै सडक कर नउठाउन निर्देशनको नाममा धम्की दिएकी छिन्।

उनले आफ्नो पुरानो शैलीमा फेसबुकमा बेन घाट रेराङ गाउँपालिकाले उठाएको सडक करको रसिद राख्दै ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु न्यायोचित नभएको भन्दै शुल्क नउठाउन निर्देशन दिएको लेखेकी छिन्।

उनले सम्बन्धित निकाय भनिए पनि कसलाई निर्देशन दिएको हो खुलाएकी छैनन्। उनले फेसबुकमा मंगलबारबाट मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारी साधनले शुल्क तिर्नु पर्ने छैन भन्दै कसैले उठाएको थाहा पाएमा कारबाहीको दायरामा ल्याउने भन्दै धम्की दिएकी छिन्।

आशिका धादिङकी सांसद हुन्। स्थानीय तहले गर्ने निर्णय रोक्न निर्देशन दिने क्षेत्राधिकार सांसदको नभए पनि उनले सामाजिक सञ्जालमा कारबाहीसम्मको धम्की दिएकी छिन्।

स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई राजश्वको क्षेत्र तोक्ने अधिकार दिएको छ। सोही कानुन अनुसार विभिन्न स्थानीय सरकारहरूले आफ्नो क्षेत्रमा करहरू तोक्ने गरेका छन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु पौडेलले कानुन अनुसार ठेक्का लगाएर सो क्षेत्रमा सवारी कर उठाउने गरेको भन्दै कानुन अनुसार भएको काम रोक भन्दै निर्देशन दिएकै आधारमा रोक्न नसकिने बताए।

आफूलाई व्यक्तिगत रूपमा कसैबाट त्यस्तो निर्देशन नआएको भन्दै उनले यदि केन्द्रबाट सरकारले नै कर उठाउन रोक्ने निर्णय गरेमा वा गाउँपालिकाको बैठकले अन्य कुनै निर्णय गरेमा कार्यान्वयन हुने तर कसैले रोक भन्दैमा नरोकिने बताए।

“यो कानुनी विषय हो। अब कसले कुन निर्देशन दिन मिल्ने भन्ने पनि बुझ्नु भएरै निर्देशन दिएको त होला,” उनले उकेरासँग भने “मलाई आधिकारिक रूपमा कतैबाट निर्देशन आएको त छैन तर अब बस्ने गाउँपालिकाको कार्यपालिका बैठकमा यो विषयबारे जानकारी गराउँछु।”

गाउँपालिकाका सूचना अधिकारी परशुराम घिमिरेले पनि स्थानीय सरकार सञ्चालन ऐनको अधिकार प्रयोग गरेर कार्यपालिकाको बैठकबाट पास भएको आर्थिक ऐन अनुसार सो क्षेत्रमा सडक कर उठाउने ठेक्का लागेको बताए।

तीन वर्षदेखि नै गाउँपालिकाले कर उठाउने गरेको र यसपालि साउनबाट टिडिएस इन्फास्टक्चर सर्भिस प्रालीले ५२ लाख कबोलेर ठेक्का पाएको उनले बताए।

गाउँपालिकाका एक अधिकारीले कर ठेक्का पाएको कम्पनीले घाटा लाग्यो भन्दै ठेक्का तोड्न चाहिरहेको र सांसदबाट क्षेत्राधिकारबाहिर गएर आएको निर्देशन हेर्दा ठेकेदारलाई ठेक्का तोड्ने बहाना दिएको देखिएको बताए।

“घाटा भयो भन्दै ठेकेदारले ठेक्का तोड्न खोजिरहेका थिए। अब सांसदले नै पैसा नतिर्नु भनेपछि बहाना पनि पाउने भए” ती अधिकारीले उकेरासँग भने।

यस अगाडि आशिकाले सूर्यविनायक नगरपालिकाले साँगामा बनाएको झोलुङ्गे पुलमा रकम उठाएको भन्दै स्थानीय पालिकाले राखेको सूचना च्यातेकी थिइन्। त्यसविरुद्ध उनीमाथि अभद्र व्यवहारमा मुद्दा दायर भएर भक्तपुर जिल्ला अदालतले पाँच दिन कैद सजाय सुनाएको थियो। पशुपति क्षेत्र विकास कोषमा अभद्र व्यवहार गरेको भन्दै उनी पक्राउ परेर मुद्दा दायर भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसदमा निर्वाचित भएपछि उनले आफ्नो पुरानो शैलीलाई निरन्तरता दिएकी छिन्।

चैत ३, २०८२ मंगलबार १६:३३:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।