आफ्नै पार्टीको सरकार बने पनि सांसदले खबरदारी गर्नुपर्छ : डा. स्वर्णिम वाग्ले

आफ्नै पार्टीको सरकार बने पनि सांसदले खबरदारी गर्नुपर्छ : डा. स्वर्णिम वाग्ले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले जनताले दिएको ४८ प्रतिशत मतको गरुङ्गो वैधतालाई सम्हाल्दै ऐतिहासिक जिम्मेवारी बोध गर्न नवनिर्वाचित सांसदहरूलाई आग्रह गरेका छन्।

मंगलबार ललितपुरमा आयोजित रास्वपाका सांसदहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘अहिले हाम्रो स्थिति लगभग दुई तिहाइको छ। १८४ सिट प्राविधिक कारणले पुगेन, एक-दुई सिटबारे पछि स्पष्ट हुँदै जाला,’ डा. वाग्लेले भने, ‘तर पपुलर भोटका हिसाबले हामीले ५१ लाख अर्थात् ४८ प्रतिशत मत हासिल गरेका छौं। यो जनादेश असाध्यै गरुङ्गो वैधता हो। यसलाई जोगाएर जनताको आशा र भरोसालाई सम्बोधन गर्दै हामीले ऐतिहासिक बोध गर्नुपर्छ।’

सांसदको मुख्य भूमिका कानुन निर्माण भए पनि आफ्नो निर्वाचन क्षेत्रका जनताको गुनासो सुन्ने र सरकारलाई खबरदारी गर्ने दायित्व पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनले प्रस्ट पारे।

‘हामी विधायकको भूमिकामा छौं। सांसदको मूल काम के हो, के गर्न हुने र के गर्न नहुने भन्ने बुझ्न जरुरी छ,’ उनले थपे, ‘हाम्रो मूल काम कानुन बनाउने नै हो। साथै, सरकारको कामको समीक्षा, अनुगमन र निगरानी गर्ने वाचडग पनि हौँ। भोलि आफ्नै पार्टीको सरकार बने पनि हामीले औंला उठाउन र खबरदारी गर्न सक्नुपर्छ। जनताका मुद्दालाई संसद्‌मा बुलन्द रूपमा उठाउनुपर्छ।’

कार्यक्रममा बोल्दै रास्वपाका अर्का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले अघिल्लो संसद्‌मा आफ्नो दलका सांसदको संख्या कम हुँदा जनअपेक्षा अनुसारको काम (डेलिभरी) गर्न नसकिएको स्मरण गरे।

‘अघिल्लो सदनमा हाम्रा सांसदहरूले सकेसम्म सबै प्रयास गरे। तर, त्यतिबेला संख्या अपुग भयो र सोचेजस्तो डेलिभरी दिन सकेनौं,’ उपसभापति अर्यालले भने, ‘देशमा सुशासन भएन, भ्रष्टाचार बढ्यो र बस्न लायक देश बनाइदिनुपर्छ भन्दै हाम्रा छोराछोरीहरू स्कुलको पोसाकमै झोला बोकेर सडकमा निस्किए। त्यतिबेला हाम्रो संख्या पुगेको भए ती छोराछोरी सडकमा होइन, स्कुलमै रमाउने थिए।’

चैत ३, २०८२ मंगलबार १३:४१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।