यस्तो छ रास्वपाले नवनिर्वाचित सांसदहरूलाई दुई दिने संसदीय अभिमुखीकरणको कार्यतालिका

यस्तो छ रास्वपाले नवनिर्वाचित सांसदहरूलाई दुई दिने संसदीय अभिमुखीकरणको कार्यतालिका

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद) हरूका लागि दुई दिने अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम आयोजना गर्दैछ।

‘परिवर्तनको नेतृत्व, परिणामको राजनीति’ भन्ने मूल नाराका साथ आगामी २०८२ चैत ३ र ४ गते ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो।

नेपाली जनताले राखेको परिवर्तन, सुशासन, पारदर्शिता र उत्तरदायी नेतृत्वको अपेक्षालाई सार्थक बनाउन सांसदहरूलाई प्रभावकारी, जिम्मेवार र परिणाममुखी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ।

कार्यक्रममार्फत सांसदहरूलाई संसदीय अभ्यास, विधायिकी प्रक्रिया, बजेट तथा कानुन निर्माण प्रक्रिया र जनप्रतिनिधिको आचरणबारे प्रशिक्षित गरिनेछ।

पहिलो दिन कानुन निर्माणदेखि एआईसम्मका कुरा
सह-महामन्त्री विपिन कुमार आचार्यले सञ्चालन गर्ने पहिलो दिनको कार्यक्रमको उद्घाटन पार्टी नेतृत्वले घण्टी बजाएर गर्नेछन्।

उद्घाटन सत्रमा उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डोलप्रसाद अर्यालले विशेष मन्तव्य राख्दै चुनावको अनुभव र आगामी निर्देशनबारे बोल्नेछन्।

पहिलो दिन मुख्यतया संसदको संरचना, कार्यप्रणाली र कानुन निर्माण प्रक्रियामा सांसदको भूमिकाबारे पूर्वसचिव एवं संसद सचिवालयका पूर्व कर्मचारी सुरेश अधिकारी र पूर्व कानुन सचिव तोयानाथ अधिकारीले सहजीकरण गर्नेछन्। 

यस्तै, आइटी विज्ञ डा. दोभान राईले कृत्रिम बुद्धिमत्ता (एआई) र अल्गोरिदमले लोकतन्त्र र सुशासनमा पार्ने प्रभावबारे प्रस्तुति दिनेछन्।

सोही दिन शिशिर खनाल, डा. तोसिमा कार्की, सोविता गौतम, मनिष झा लगायतका अनुभवी सांसदहरूले नयाँ सांसदहरूलाई आफ्नो अनुभव साट्नेछन् भने बेलुकी रणनीतिक प्रश्नहरूमाथि समूहगत छलफल गरिनेछ।

दोस्रो दिन योग र ध्यानदेखि सभापतिको मन्तव्यसम्म
दोस्रो दिनको कार्यक्रम बिहान साढे ६ बजे एल.पी. भानु शर्माको नेतृत्वमा योग तथा ध्यान (माइन्डफुलनेस) अभ्यासबाट सुरु हुनेछ। 

त्यसपछि सरकारको योजना तथा बजेट निर्माण प्रक्रियाका विषयमा राष्ट्रिय योजना आयोगका पूर्वसचिव डा. तोयानारायण ज्ञवाली र सुशासनको अवधारणाबारे पूर्वसचिव प्रतापकुमार पाठकले प्रशिक्षण दिनेछन्।

पार्टी र सांसदबीचको सम्बन्ध तथा नयाँ राजनीतिक संस्कारका विषयमा महामन्त्री कविन्द्र बुर्लाकोटी र केन्द्रीय सदस्य आरके ढुंगानाले प्रकाश पार्नेछन्।

कार्यक्रमको अन्त्यमा सांसदहरूले आ-आफ्नो एजेण्डाको प्राथमिकता निर्धारण गरी प्रस्तुति दिनेछन्।

प्रशान्त उप्रेती र खिमा बिक लगायतका युवा सांसदहरूको मन्तव्यपछि पार्टी सभापति रवि लामिछानेले पार्टीको आगामी रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकता प्रष्ट पार्दै कार्यक्रमको औपचारिक समापन गर्ने कार्यतालिका रहेको छ।

यस अभिमुखीकरणले संसद, सरकार र निर्वाचन क्षेत्रबीच प्रभावकारी समन्वय कायम गर्न सांसदहरूलाई सक्षम बनाउने पार्टीको विश्वास छ।

चैत ३, २०८२ मंगलबार ०९:१४:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।