काठमाडौं प्रशासनको 'मोडेल' देशैभरि विस्तारमा गृहमन्त्रीको जोड

काठमाडौं प्रशासनको 'मोडेल' देशैभरि विस्तारमा गृहमन्त्रीको जोड

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले जिल्ला प्रशासन कार्यालय काठमाडौंले नागरिक सेवाका लागि अवलम्बन गरेको नवीनतम मोडेल उत्कृष्ट रहेको बताएका छन्।

प्रधानमन्त्री सुशीला कार्कीका साथमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंको सेवा प्रवाहको स्थितिबारे अनुगमन गर्न त्यहाँ पुगेका मन्त्री अर्यालले यहाँ कार्यान्वयनमा ल्याइएको प्रणाली देशभरका सरकारी कार्यालयका लागि नमुना भएको बताए।

नागरिकले पाउने सरकारी सेवालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन यो प्रणाली उपयोगी र सान्दर्भिक भएको उनको भनाइ थियो।

“नागरिकलाई सहज सेवा प्रवाहका लागि देशैभरि यो प्रणाली मानकका रूपमा अवलम्बन गर्न सकिन्छ, अब आउने सरकारका लागि पनि यो राम्रो मानक हुन्छ,” अर्यालले भने, “७७ वटै जिल्ला र अन्य सेवा प्रवाह हुने ठाउँमा पनि यो मोडेल विस्तार गर्दा सरसफाइदेखि सेवा प्रवाह छिटो र छरितो हुने देखिन्छ। मोडेलमा सङ्घ, प्रदेश र स्थानीय तहको बलियो समन्वय र सहकार्य जरुरी छ।”

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई प्रभावकारी एवं जनमैत्री बनाउन सार्वजनिक सम्बोधन प्रणाली (पब्लिक एनाउन्समेन्ट सिस्टम) सञ्चालनमा ल्याएको छ। सोमबार एक कार्यक्रमबीच उक्त प्रणाली औपचारिक रूपमा सुरु गरिएको हो।

अनुगमनका क्रममा अर्यालले सेवाग्राहीका गुनासाहरू प्रत्यक्ष रूपमा सुन्नुका साथै त्यहाँ कार्यरत कर्मचारीलाई छिटोछरितो र झन्झटरहित सेवा प्रवाह गर्न निर्देशन दिए। प्रशासनको कामकारबाहीलाई थप पारदर्शी बनाउनुपर्नेमा जोड दिँदै उनले सेवाग्राहीलाई दुःख दिने बिचौलियाहरूको अन्त्य गर्न मन्त्रालयले शून्य सहनशीलताको नीति अपनाएको स्पष्ट पारे। 

चैत २, २०८२ सोमबार २१:५४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।