२२ वर्षपछि फर्किएको ‘हामी तीन भाइ’

२२ वर्षपछि फर्किएको ‘हामी तीन भाइ’

काठमाडौं : करिब २२ वर्षअघि शिव रेग्मीले निर्देशन गरेको फिल्म ‘हामी तीन भाइ’को चर्चा अहिले पनि उत्तिकै हुने गर्छ। यो फिल्म हेरेका दर्शकले यसका तीन मुख्य पात्रहरू राजेश हमाल, निखिल उप्रेती र श्रीकृष्ण श्रेष्ठलाई अझै बिर्सेका छैनन्।

त्यतिबेला व्यावसायिक रूपमा निकै सफल भएको यस फिल्मका गीतहरू अहिले पनि उत्तिकै लोकप्रिय छन्। ‘तिर्खा लाग्यो नीरमाया’, ‘पिरती मिसाउँदै’, ‘मलाई यो जिन्दगीले’, ‘कल कल खोला’ र ‘बाजा घन्काउँदै’ जस्ता गीतहरू आज उत्तिकै रुचाइन्छन्।

राजेश हमाल, रेखा थापा, श्रीकृष्ण श्रेष्ठ, झरना थापा, निखिल उप्रेती र नन्दिता केसीको अभिनय तथा नृत्यले दर्शकमा गहिरो प्रभाव पारेको थियो। फिल्मका कथा र गीतहरू दर्शकलाई याद रहन्थे।

अहिले सोही नाममा निर्देशक मधुसुदन भट्टराईले नयाँ तथा पुराना कलाकारहरूको सम्मिश्रणमा फिल्म ‘हामी तीन भाइ’ निर्माण गरेका छन्। यो फिल्म प्रदर्शन हुन अब १० दिन मात्र बाँकी छ। प्रचार-प्रसारका लागि निर्माण पक्षले हालै टिजर र ट्रेलर सार्वजनिक गरेको छ।

यद्यपि, सार्वजनिक प्रचार सामग्रीले अपेक्षा गरे अनुसारको बलियो प्रभाव जमाउन भने सकेको छैन। पुरानो फिल्म र यसको कथावस्तु निकै फरक हुनसक्ने अनुमान लगाउन सकिन्छ, तर फिल्मको वास्तविक पक्ष बुझ्न भने चैत १३ गतेसम्म नै कुर्नुपर्ने हुन्छ।

२२ वर्षअघिको संस्करणमा स्थापित र चलेका कलाकारहरूको बाहुल्यता थियो भने अहिलेको नयाँ ‘हामी तीन भाइ’मा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल विष्ट, जाहान्वी बस्नेत, फलित राई र आश्मा गिरी मुख्य भूमिकामा छन्।

पुरानो सफल फिल्मकै नाममा नयाँ फिल्म निर्माण गर्दा चुनौतीहरू अवश्य हुन्छन्। यसअघि पुराना र चर्चित फिल्मको नाम सापटी लिएर बनाइएका ‘कुमारी’ र ‘मुग्लान’ जस्ता फिल्मले व्यावसायिक रूपमा सफलता पाउन सकेनन्। यस फिल्मले बक्स अफिसमा कस्तो प्रदर्शन गर्ला, त्यो रिलिजपछि नै थाहा हुनेछ। तर, निर्माण टिमले राम्रो मिहिनेत गरेको खण्डमा नयाँ कलाकारहरूले दर्शकको मन जित्ने र पुरानो संस्मरणलाई नयाँ ढङ्गले ताजा बनाउने अपेक्षा गर्न सकिन्छ।

साजित महतको प्रस्तुति रहेको यस फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्। त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ निर्माता रहेको यस फिल्मका कार्यकारी निर्माता विक्रम तामाङ हुन्।

सह-निर्मातामा भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे र विशेष सहयोगीका रूपमा शम्भु कुमार केसी रहेका छन्। आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको नतिजाका लागि अब केही दिन मात्र प्रतीक्षा बाँकी छ।

चैत २, २०८२ सोमबार १८:२७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।