१ करोड १६ लाख नगदसहित काठमाडौंमा हुन्डी कारोबार गर्ने दुई जना पक्राउ

१ करोड १६ लाख नगदसहित काठमाडौंमा हुन्डी कारोबार गर्ने दुई जना पक्राउ

काठमाडौं : काठमाडौंको नागार्जुन नगरपालिका–८, भिमढुंगाबाट हुन्डी तथा अभौतिक मुद्राको अवैध कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नागार्जुन–८ बस्ने २८ वर्षीय सागर गिरी र सोही उमेरका प्रमोद प्रसाद धिताल रहेका छन्। 

अवैध अभौतिक मुद्राको कारोबार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई १ करोड १६ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको  जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

उनीहरुबाट प्रहरीले १ करोड १६ लाख रुपैयाँ नगद, विभिन्न व्यक्तिको नाममा काटिएको २७ लाख ३० हजार रुपैयाँ बराबरको चेक, विभिन्न व्यक्तिका नाममा रहेका बैंक चेकबुकहरू, एटीएम कार्डहरू, नागरिकताका प्रतिलिपिहरू, २ थान चारपाङ्ग्रे र १ थान दुईपाङ्ग्रे सवारी साधन, साथै ३ थान ब्लुबुक, विभिन्न कम्पनीका ६ थान मोबाइल, ३१ थान सिमकार्ड र १ थान कम्प्युटर बरामद गरेको छ। 

पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

चैत २, २०८२ सोमबार १७:४६:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।