चलचित्र विकास बोर्डसँग रेखा थापाको ‘३६ को आँकडा’!

चलचित्र विकास बोर्डसँग रेखा थापाको ‘३६ को आँकडा’!

काठमाडौं : चलचित्र विकास बोर्डले अचेल एउटा नयाँ ‘ट्रेन्ड’ चलाएको छ- महिनाभरि प्रदर्शन हुने फिल्महरूको भिडियो बनाएर आफ्नो अफिसियल पेजबाट प्रमोसन गर्ने।

कुन फिल्म कति गते लाग्दैछ, बोर्डले दर्शकलाई जानकारी त दिन्छ, तर यो पटक चैत महिनाको सूची हेर्दा ‘लेडी सिंघम’ भनेर चिनिएकी रेखा थापाका फ्यानहरू झस्किए। बोर्डले बनाएको भिडियोमा अरू फिल्म अटाउँदा रेखाको ‘३६ को आँकडा’ भने गायब थियो।

बोर्डले सार्वजनिक गरेको भिडियो क्यालेन्डरमा चैत १३ को ‘हामी तीन भाई’ देखि २७ गते लाग्ने विराज भट्टको ‘राम नाम सत्य’ र ‘डल्लेले इन्ट्री मार्यो’ सम्मको चर्चा छ। तर, त्यही २७ गते नै आउन लागेको ‘३६ को आँकडा’को जानकारी छैन।

अब यहाँ प्रश्न उठ्छ- बोर्डसँग रेखाको ‘३६ को आँकडा’ हो कि भिडियो बनाउने टोली झुक्किएको हो?

खैर, फिल्म चल्न अब २५ दिन पनि बाँकी छैन। यतिबेला त बजारमा पोस्टर, गीत र टिजरको बाढी आउनुपर्ने हो। तर, ‘३६ को आँकडा’को टिम भने प्रचारमा सुस्त छ। न एउटा पोस्टर सार्वजनिक भएको छ, न त कुनै प्रोमो नै।

रेखाले फिल्मकी नायिका पूजा शर्माको तस्बिर राख्दै फिल्म चैत २७ मै आउँछ भन्न त भनिन् तर अहिले उनी आफैँ अर्को फिल्म ‘माया भनेको यस्तो होला’को निर्देशनमा मख्ख छिन्। ३० दिनको सुटिङ सेड्युल बोकेर हिँडेकी रेखाले फिल्मको प्रमोसन गर्छिन् कि सुटिङ?

यता विराज भट्टको ‘राम नाम सत्य’ले बजार तताइसक्यो- गीत आयो, टिजर आयो, पोस्टरले हल भरिइसक्यो। तर, रेखा भने अझै पनि आफ्नो ‘पुरानो स्टारडम’कै भरमा फिल्म चल्छ भन्ने भ्रममा हुनुहुन्छ कि!

सामग्री नपठाएर बोर्डले फिल्म नराखेको हो कि, बोर्डसँग नै रेखाको ‘३६ को आँकडा’ हो, त्यो उनीहरू नै जानुन्!

चैत २, २०८२ सोमबार १४:०६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।