प्रधानमन्त्रीका स्वकीयलाई महाबीर पुनको सल्लाह- ‘आदर्श भाइ! प्रधानमन्त्रीको इज्जत धुलोमा नमिलाइदेउ, त्यो पद नलिऊ’

प्रधानमन्त्रीका स्वकीयलाई महाबीर पुनको सल्लाह- ‘आदर्श भाइ! प्रधानमन्त्रीको इज्जत धुलोमा नमिलाइदेउ, त्यो पद नलिऊ’

काठमाडौं : अन्तरिम सरकारको शिक्षा मन्त्रीबाट राजीनामा दिएर निर्वाचनमा होमिएका डा. महाबीर पुनले प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई ‘राष्ट्रिय प्रकृति संरक्षण कोष’को कार्यकारी प्रमुखको पद नलिन सल्लाह दिएका छन्।

उनले श्रेष्ठलाई सम्बोधन गर्दै लेखेका छन्, ‘आदर्श भाई, प्रधानमन्त्रीज्यूको इज्जत धुलोमा नमिसियोस् भन्नाको खातिर त्यो पद नलिऊ। त्यति सानो लोभले प्रधानमन्त्रीज्यूले कमाउनुभएको ऐतिहासिक इज्जत कृपया धुलोमा नमिलाइदेउ।’

पुनले पुरानो दलहरू नातावाद, चाकरीबाज र कृपावादले गर्दा नै सकिएको भन्दै अहिलेको सरकारले पनि त्यही बाटो पछ्याए नयाँ दलहरू पनि कालान्तरमा मासिने चेतावनी दिएका छन्।

उनले यो नियुक्तिलाई होसियार गराउँदै अब आउने सरकारले बुद्धि पुर्याएर निर्णय गर्नुपर्नेमा जोड दिएका छन्।

प्रधानमन्त्री कार्कीले प्रकृति र वन्यजन्तुको क्षेत्रमा कुनै विशेषज्ञता नभएका आफ्नै प्रमुख स्वकीय सचिव श्रेष्ठलाई ५ वर्षका लागि कोषको सदस्य सचिव (कार्यकारी प्रमुख) नियुक्त गरेकी थिइन्। श्रेष्ठको पृष्ठभूमि भने विवादास्पद देखिन्छ।

सर्वोच्च अदालतमा अस्थायी कम्प्युटर अपरेटरका रूपमा प्रवेश गरेका श्रेष्ठ पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र सुशीला कार्की प्रधानन्यायाधीश हुँदा पनि स्वकीय भूमिकामै थिए।

उनीमाथि बिचौलिया समूहसँग मिलेर मुद्दा मिलाउने गरेको र प्रधानमन्त्रीको सचिवालयमा आफ्नै श्रीमती र नातेदारलाई भर्ना गरेको आरोप लाग्दै आएको छ। विवादपछि कार्कीले अन्य नातेदारलाई हटाए पनि श्रेष्ठलाई भने च्यापेरै राखेकी थिइन्।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई मात्र होइन, आफ्ना गृहमन्त्री ओमप्रकाश अर्याललाई पनि राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न सिफारिस गरेको छ।

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन भूमिका खेलेको र अन्य मन्त्रीले साथ छाड्दा पनि आफूलाई साथ दिएको भन्दै कार्कीले अर्याललाई पुरस्कृत गरेकी हुन्।

कुनै समय सुशासनको पक्षपाती मानिएकी प्रधानमन्त्री कार्कीले सरकारबाट बिदा हुने बेलामा योग्यता र क्षमताभन्दा पनि ‘खल्तीका मान्छे’ लाई लाभको पद सुम्पिएपछि नागरिकस्तर र राजनीतिक वृत्तमा समेत उनको आलोचना सुरू भएको छ।

चैत २, २०८२ सोमबार ११:२६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।