जुम्लाका २९ स्थानमा डढेलो, ३३० हेक्टर वन क्षेत्रमा क्षति
जुम्ला : जुम्लामा गत आर्थिक वर्षभर ३३०.२८ हेक्टरमा डढेलोबाट वन क्षति भएको छ। डिभिजन वन कार्यालयका प्रमुख भरत बुढ्थापाका अनुसार गत आर्थिक वर्षमा २९ स्थानमा वन डढेलो लागेको र करिब ३३० दशमलव २८ हेक्टर वन जङ्गल डढेलोबाट क्षति भएको बताए।
चालु आर्थिक वर्षको ८ महिनासम्म जुम्लाका आठवटै स्थानीय तहका विभिन्न ६ वटा स्थानमा डढेलो लागेको छ। अनुमानित एक सय हेक्टर वन क्षेत्रमा डढेलोबाट क्षति भएको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख बुढ्थापाको भनाइ छ।
वन डढेलो नियन्त्रणमा प्रभाकारिता, तीनै तहका सरकार र समुदायको सहभागिता भन्ने मूल नारासहित जुम्लामा वन डढेलो नियन्त्रणसम्बन्धी साप्ताहिक कार्यक्रम यही चैत १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम गरिने डिभिजन वन कार्यालय जुम्लाका प्रमुख बढ्थापाले जानकारी दिए।
वन संरक्षणमा सामुदायको महत्वपूर्ण भूमिका रहने सहायक प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावलले जानकारी दिए ।
बर्सेनि गर्मीयाममा हुने डढेलोले वन क्षेत्रमा क्षति पुर्याउँदै आएको छ। दमकल नपुग्ने विकट क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न भने समस्या देखिने गरेको छ।
चैत २, २०८२ सोमबार १०:४१:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।