वार्षिक २० हजार पर्यटकको रोजाइमा म्याग्दीको सिंगा तातोपानी

वार्षिक २० हजार पर्यटकको रोजाइमा म्याग्दीको सिंगा तातोपानी

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका-४ मा अवस्थित सिंगा तातोपानी कुण्ड प्राकृतिक उपचारका लागि देशकै प्रमुख गन्तव्यका रूपमा विकसित भएको छ।

जमिनभित्रबाट निस्कने प्राकृतिक तातोपानीमा स्नान गरेर विभिन्न रोग निको हुने भएपछि यहाँ वर्षेनी हजारौँ बिरामी र पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ।

कपिलवस्तुका रामलाल चालिसे यस पटक दोस्रो पटक यहाँ आइपुगेका छन्।

‘पहिलो पटक तातोपानीमा डुबेपछि मेरो ग्यास्ट्रिकको समस्या निको भएको थियो, त्यसैलाई दोहोरिन नदिन फेरि आएको हुँ’, उनले भने।

चितवनकी चमेली घर्ती क्षेत्री पनि विगत १० वर्षदेखि नियमित रूपमा एक हप्ताका लागि यहाँ आउँछिन्। ढाड दुख्ने र अपच हुने समस्याबाट मुक्ति पाएकी उहाँ तातोपानी स्नानलाई बरदान नै मान्छिन्।

रोग निको हुने जनविश्वास र वैज्ञानिक आधार
म्याग्दी नदीको किनारमा प्राकृतिक रूपमा निस्कने ५० डिग्री सेल्सियस तापक्रमको पानीमा वीरेनुनको गन्ध आउँछ।

यस्तो पानीमा निश्चित समयसम्म शरीर डुबाउनाले ग्यास्ट्रिक, बाथ, छाला सम्बन्धी समस्या, र हाडजोर्नी दुख्ने जस्ता समस्या निको हुने जनविश्वास छ।

कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार यहाँ स्नानका लागि वैज्ञानिक तालिका बनाइएको छ।

‘एक पटकमा २५० जनासम्मले स्नान गर्न सक्ने पोखरी छ। महिला र पुरुषका लागि छुट्टाछुट्टै समय तालिका मिलाइएको छ’, उनले भने।

कुण्डमा डुबेपछि बाक्लो कपडाले बेरेर शरीरलाई न्यानो बनाइन्छ, जसले उपचारलाई थप प्रभावकारी बनाउँछ।

बढ्दो चाप र राजस्व संकलन
असोजदेखि वैशाखसम्म तातोपानी स्नानका लागि उपयुक्त सिजन मानिन्छ। हाल दैनिक करिब १ हजार २०० जनाले कुण्डमा स्नान गरिरहेका छन्।

कुण्डमा १० दिनसम्म स्नान गर्नका लागि प्रतिव्यक्ति ३ सय ५० रुपैयाँ शुल्क तोकिएको छ। उक्त शुल्कको १३ प्रतिशत सरकारलाई कर र २५ प्रतिशत बेनी नगरपालिकालाई बुझाउने गरिएको समितिले जनाएको छ।

गत वर्ष मात्रै नेपालका ६६ जिल्लाका साथै कोरिया, पोल्याण्ड, युक्रेन, स्कटल्याण्ड, रुस, जापान र भारतका गरी २० हजार ३४७ जनाले यहाँ सेवा लिएका थिए। यो संख्या अघिल्ला वर्षहरूको तुलनामा बढ्दो क्रममा छ।

फस्टाउँदो स्थानीय पर्यटन
बिरामी र पर्यटकको चाप बढेसँगै तातोपानी क्षेत्रका होटल र होमस्टेहरू भरिभराउ भएका छन्।

होटल व्यवसायी समितिकी अध्यक्ष सीता घलेका अनुसार यहाँ साना-ठूला २० वटा होटल सञ्चालनमा छन्। कतिपय पाहुनाहरूले ग्यास र कोठा भाडामा लिएर आफैँ पकाएर खाने सुविधा समेत पाउने गरेका छन्।

यहाँ आउने पाहुनाहरूको विशेष रोजाइमा म्याग्दी नदीको स्थानीय असला माछा पर्ने गरेको छ।

चैत २, २०८२ सोमबार १०:१९:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।