दुबई अन्तर्राष्ट्रिय विमानस्थलका उडानहरू अस्थायी रूपमा स्थगित, इमिरेट्सद्वारा पनि उडान बन्द

दुबई अन्तर्राष्ट्रिय विमानस्थलका उडानहरू अस्थायी रूपमा स्थगित, इमिरेट्सद्वारा पनि उडान बन्द

एजेन्सी : यात्रु र कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै दुबई नागरिक उड्डयन प्राधिकरणले दुबई अन्तर्राष्ट्रिय विमानस्थलका उडानहरू अस्थायी रूपमा स्थगित गरेको छ।

दुबई एयरपोर्ट्सका अनुसार सञ्चालनमा आएको निरन्तरको अवरोधका कारण दुबई अन्तर्राष्ट्रिय विमानस्थल का केही उडानहरूलाई अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थल तर्फ डाइभर्ट गरिएको छ।

यसैबीच, इमिरेट्स एयरलाइन्सले पनि दुबईबाट हुने र दुबई आउने आफ्ना सम्पूर्ण उडानहरू अस्थायी रूपमा स्थगित गरेको घोषणा गरेको छ। एयरलाइन्सले अर्को सूचना जारी नभएसम्म यात्रुहरूलाई विमानस्थल नजान आग्रह समेत गरेको छ।

यात्रु र चालक दलका सदस्यहरूको सुरक्षा आफ्नो उच्च प्राथमिकता रहेको बताउँदै इमिरेट्सले थप जानकारी प्राप्त हुनासाथ अद्यावधिक गराउने जनाएको छ।

साथै, यस असहज परिस्थितिमा धैर्यता र समझदारी देखाएको भन्दै एयरलाइन्सले आफ्ना ग्राहकहरूलाई धन्यवाद दिएको छ।

उडान तालिका र यात्रा योजनाबारे पछिल्लो जानकारी लिन यात्रुहरूलाई आ-आफ्नो एयरलाइन्समा सम्पर्क गर्न सल्लाह दिइएको छ। यससम्बन्धी थप विवरणहरू प्राप्त भएपछि आधिकारिक माध्यमबाट जानकारी गराइने सम्बन्धित निकायले जनाएका छन्।

चैत २, २०८२ सोमबार ०९:३३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।