प्रधानमन्त्री सुशीलाको दुई प्रियले पाए 'लाभ'को पद
काठमाडौं : कुनै लोभबिना सरकारको नेतृत्व गरेर प्रशंसित प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनपछि काम चलाउ बनिसकेको सरकारको मन्त्रिपरिषदबाट आफू निकट दुई जनालाई लाभको पदमा नियुक्तिको निर्णय गरेकी छिन्। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकबाट उनले आफ्नो सरकारमा गृहमन्त्री रहेका ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरिन्।
अर्कातर्फ प्रधानमन्त्रीको स्वकीय सचिवालयदेखि लिएर सर्वोच्च अदालतमा रहँदा मुद्दा मिलाउन सक्रिय रहेको आरोप लाग्ने गरेका विवादित आफ्नो प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत गरिन्।
निर्वाचन शान्तिपूर्ण सम्पन्न गराउन गृहमन्त्रीका रूपमा अर्यालले महत्वपूर्ण भूमिका निभाएका थिए। अन्य मन्त्रीहरू निर्वाचनमा सहभागी हुन राजीनामा दिएर हिँड्दा पनि उनले कार्कीलाई साथ दिएका थिए।
उता श्रेष्ठ भने विवादै विवादमा घेरिए पनि कार्कीले जाँदाजाँदै प्रकृति र वन्यजन्तुबारे कुनै ज्ञान नभएका आफ्नो प्रमुख स्वकीय सचिवलाई लाभको पदमा नियुक्त गरिन्। उनले कोषको संरक्षकको रूपमा पाँच वर्षका लागि श्रेष्ठलाई कोषको सदस्य सचिवमा नियुक्त गरेकी हुन्।
श्रेष्ठ कम्प्युटर अपरेटरको रूपमा सर्वोच्च अदालतमा अस्थायी कर्मचारीको रूपमा प्रवेश गरेका थिए। उनी कल्याण श्रेष्ठ प्रधानन्यायधीशहुँदा सर्वोच्च छिरेर स्वकीयको काम गरेका थिए। सुशीला प्रधानन्यायाधीश भएपछि पनि उनी सोही भूमिकामा रहे। उनको नाम बारम्बार बिचौलिया समूहसँग मिलेर मुद्दा मिलाउन सक्रिय रहेकोमा जोडिने गरेको छ।
कार्की प्रधानमन्त्री भएपछि उनको स्वकीय भएर सचिवालयमा आफ्नो श्रीमतीसहितका नातेदारहरू भर्ना गरेपछि उनी विवादमा तानिएका थिए। विवाद भएपछि प्रधानमन्त्री कार्कीले श्रेष्ठबाहेक अन्यलाई निकालिन्। राससलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले आफ्नो स्वकीय श्रेष्ठको निकै प्रशंसा गरेकी थिइन्।
चैत १, २०८२ आइतबार १९:४६:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।