समानुपातिक सांसदको नाम टुंगियो, कांग्रेस र रास्वपाबाट सिफारिस नाम ‘गोप्य’
काठमाडौं : निर्वाचन आयोगले दिएको समय सीमाभित्र राजनीतिक दलहरूले समानुपातिकतर्फका सांसदहरूको नामावली टुंगो लगाएर आइतबार बुझाए। राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, एमाले, राप्रपा र श्रम संस्कृति पार्टीले आफ्नो मत अनुसार निर्वाचित सांसदहरूको नाम क्लस्टर अनुसार बुझाएका हुन्।
राष्ट्रिय दल भएका ५ दलमध्ये एमाले, राप्रपा, श्रम संस्कृति पार्टी र नेकपाले सिफारिस गरेका समानुपातिक सांसदहरूको नाम सार्वजनिक गरे पनि रास्वपा र नेपाली कांग्रेसले भने नाम बुझाए पनि क्लस्टर नमिले पुन संशोधन गर्नुपर्ने भन्दै नामहरू गोप्य राखेको छ।
एमालेको शनिवार बसेको सचिवालय बैठकले आफूले पाएको मत अनुसार १६ जनाको नाम टुंगो लगाएको थियो। उसले जनजातिबाट भूमिका सुब्बा, गङ्गादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्यको नाम सिफारिस गरेको थियो।
खस आर्यबाट पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बराल, गुरु प्रसाद बराल र पुष्पराज कँडेलको नाम समेटेको थियो। दलितबाट विष्णुमाया वी.के. र निता घतानी तथा मधेसीबाट रिङ्ला यादव, यशोदा कुमारी यादव र चन्द्रेश्वर मण्डलको नाम सिफारिस गर्यो। सोही अनुसार आइतबार आयोगमा सूची बुझायो।
नेपाली कांग्रेसले पाएको मत अनुसार २० जनाको नाम आयोगमा बुझायो। आइतबार प्रवक्ता देवराज चालिसेले १५ महिला र ५ पुरुषको नाम पठाएको बताए। क्लस्टर अनुसार आदिवासी जनजातिबाट ६, खस आर्यबाट ६ र बाँकी थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट ५ जना समेटिएको जानकारी दिए पनि उनले नाम भने खुलाएनन्।
रास्वपाले ५७ जनाको नामावली टुंगो लगाए पनि नाम सार्वजनिक गरेन। उसले आइतबार ४८ महिला र ९ पुरुषको नाम टुंगो लगाएको हो। प्रवक्ता मनिष झाका अनुसार खस आर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेसीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिमबाट ३ जना चयन भएका छन्। तर नाम भने सार्वजनिक भएको छैन।
नेकपाले आफ्ना ९ जना उम्मेदवारको नाम पठायो। त्यसमा बलावती शर्मा, प्रमेश हमाल, प्रेम बहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौरा रहेका छन्। राप्रपाले भरत गिरी, ताहिर अलि, खुश्बु ओली र सरस्वती लामाको नाम सिफारिस गर्यो।
श्रम संस्कृति पार्टीको धरानमा बसेको बैठकले पूर्ण लिम्बू, रुवीकुमारी ठाकुर, अम्बिकादेवी सङ्ग्रौला र राधिका रम्तेलको नाम सिफारिस गर्यो।
चैत १, २०८२ आइतबार १९:०१:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।